Business

जनकपुर चुरोटका महाप्रबन्धक हटाऊः लेखा

संसदको सार्वजनिक लेखा समितिले जनकुपर चुरोट कारखानाका श्यामकुमार महतोलाई हटाई कार्यसम्पादन सम्झौताका आधारमा प्रतिस्पर्धाबाट नयाँ महाप्रबन्धक नियुक्त गर्न निर्देशन दिएको छ ।

जनकपुर चुरोट कारखानासम्बन्धी रविन्द्र अधिकारीको संयोजकत्वमा गठित उपसमितिको सुझावका आधारमा उक्त निर्देशन दिइएको हो । समितिले उपसमितिले दिएका सुझाव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो । ‘राष्ट्रिय स्तरमै प्रतिस्पर्धा गराई कार्य सम्पादन सम्झौताको आधारमा महाप्रबन्धक नियुक्ति गर्ने र निजको कार्ययोजनालाई निरन्तर अनुगमन गर्ने,’ उपसमितिको प्रतिवेदनमा उल्लेख छ, ‘सरोकारवालाले महतोले कारखाना चलाउन नसक्ने रायसमेत दिएकाले आवश्यक प्रक्रिया पुर्‍याई निजलाई जिम्मेवारीबाट हटाउने ।’

उपसमितिले अल्पकालीन र दीर्घकालीन कार्ययोजना बनाई कारखानालाई प्रतिस्पर्धा, व्यावसायिक, चुस्त र दुरुस्त रूपमा सञ्चालन गर्न सुझाव दिएको छ । अल्पकालीन सुझावमा नयाँ महाप्रबन्धक नियुक्त गरी कारखाना सञ्चालन गर्न आवश्यक चालू पुँजी र आवश्यक स्रोत व्यवस्थापन गर्ने, व्यावसायिक प्रतिबद्धता भएको सञ्चालक समिति बनाउने, सञ्चालक समितिका योजना तथा कामको हरेक १५ दिनमा मन्त्रालयले अनुगमन गर्ने, कच्चा पदार्थ र स्पेयर पार्ट्स खरिद गरी अत्यावश्यक मेसिन मर्मत गराउने लगायत छन् ।

त्यसैगरी स्वैच्छिक अवकाश र अनिवार्य अवकाशका कार्यक्रम ल्याई कर्मचारी र मजदुरलाई अवकाश दिने व्यवस्था मिलाउने, दक्ष कर्मचारीलाई करारमा ल्याउने, सबै आर्थिक वर्षको वित्तीय विवरण तयार गरी लेखापरीक्षक समक्ष पेस गर्ने, सुर्ती किसानलाई तत्काल भुक्तानी दिनेलगायत सुझाव पनि उपसमितिले दिएको छ ।

उपसमितिको मध्यकालीन, दीर्घकालीन र उपकरण प्रतिस्थापन गर्ने, अचल सम्पत्तिको उचित व्यवस्थापन गर्ने, कारखाना प्रतिस्पर्धी बनाउने, सुरक्षा प्रबन्ध गर्ने, कारखाना पुनःसंरचना गर्ने र विश्वस्तरमा परिचित उत्पादक ब्रान्डका रूपमा विकास गर्ने लगायत छन् ।
स्रोत:कान्तिपुर