Sports

सुनीलको मावलीगाउँमा खुसियाली

भारतीय फुटबल टोलीका स्ट्राइकर सुनील क्षेत्री खेलकुदकै प्रतिष्ठित ‘अर्जुन अवार्ड’ बाट सम्मानित भएपछि उनको मावली गाउँ झापाको बाहुनडाँगीमा खुसियाली छाएको छ ।

‘पुरस्कार पाएको खुसीले हामी गद्गद् छौं,’ सुनीलका नातेदार अर्जुन कार्की भन्छन् । उनका अनुसार सोमबार साँझ उनले पुरस्कार पाएको खबर आएको थियो । केही वर्षअघि सुनील मामाघर आएका थिए ।

मामाहरू स्वर्गीय फन्दासिंह पाण्डे र शरण पाण्डे झापाका पुराना खेलाडी थिए । सुनील खेलाडी बन्नुमा मामाहरूको पनि पूर्ण सहयोग र हौसला छ ।

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति प्रतिभा पाटिलले भारतीय खेलकुदको सर्वोत्कृष्ट अर्जुन पुरस्कार सुनीललाई प्रदान गरेकी थिइन् । यो पुरस्कार पाउने उनी पहिलो नेपालीभाषी हुन् । भारतको सिकन्दरावादमा जन्मिएका उनको पुख्र्यौली घर झापाको चारआली भएको नातेदार बताउँछन् ।

सेनाबाट रिटायर्ड बुबाको प्रेरणाबाट उनी फुटबलप्रति आकषिर्त भएको आमा शुशीलाले टेलिफोनमार्फत् बताइन् ।

छोटो समयमा भारतीय फुटबलको विकासमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै सुनीललाई पुरस्कृत गरिएको भारत सरकारले जनाएको छ । उनले एक दशकअघि कोलकाताको मोहन बगानबाट सिनियर फुटबलमा डेब्यु गरेका थिए । भारतीय राष्ट्रिय टिमका लागि उनले अहिलेसम्म ५२ खेल खेलेका छन् । त्यसमा २४ गोल गरे ।
स्रोत:कान्तिपुर