Sports

साफको प्रशिक्षण नारायणहिटीमा

नेपाली राष्ट्रिय फुटबल टिमले तीन महिनापछि उडिसामा हुने सातौं साफ च्याम्पियनसिपका लागि नारायणहिटी दरबारस्थित मैदानमा प्रशिक्षण मंगलबार सुरु गरेको छ ।

‘फिटनेसमा जोड दिँदै पूर्ण अभ्यास सुरु गरेका छौं,’ सहायक प्रशिक्षक मेघराज केसीले भने, ‘अहिलेका लागि प्रशिक्षणस्थल नारायणहिटी छानिएको हो । केही अवधि यहीँ ट्रेनिङ गर्नेछौं ।’ फिफा विश्वकप-२०१४ को दोस्रो चरणको छनोटमा एक महिनाअघि जोर्डनविरुद्ध काठमाडौंमा दोस्रो लेग खेलेयता नेपाली राष्ट्रिय टिमले पहिलोपल्ट नियमित प्रशिक्षण सुरु गरेको हो ।

राष्ट्रिय टिमले नियमित प्रशिक्षणको पहिलो दिन सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा फिटनेस प्रशिक्षण गरेको थियो । विश्वकप छनोटमा राष्ट्रिय टिममा रहेका २० सँगै थप ६ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।

बेलायती प्रशिक्षक ग्राहम रोबर्ट्सले राष्ट्रिय टिमबाहिरका एपीएफका गणेश लावती, हिमालयन शेर्पाका दीपक राई, पुलिसका रमेश कटवाल, एनआरटीका राजु योगी तथा मनाङमस्र्याङ्दीका विशाल श्रेष्ठ र विजय गुरुङ छन् ।

गणेश र दीपक फरवार्ड, रमेश र विजय मिडफिल्डर तथा विशाल र राजु गोलकिपर हुन् । राजुले राष्ट्रिय टिमको प्रशिक्षणमा पहिलोपल्ट अवसर पाएका हुन् । दीपक र विजयसँगै पछिल्लोपल्ट राष्ट्रिय टिममा रहेका फरवार्ड अनिल गुरुङ र मिडफिल्डर शिव श्रेष्ठ प्रशिक्षणमा अनुपस्थित छन् । अनिल अहिले बेलायतमा छन् । शिव लाहुरे भर्तीका लागि प्रयासरत छन् । प्रशिक्षणमा रोबर्टस्लाई मेघराज केसी र उपेन्द्रमान सिंहले साथ दिइरहेका छन् ।

मैत्रीपूर्ण खेलमा जोड

दक्षिण एसियाली फुटबलको सर्वाधिक ठूलो प्रतियोगिता पहिलोपल्ट जित्ने लक्ष्य राखेको नेपाली राष्ट्रिय टिमको राम्रो तयारीका लागि उत्कृष्ट टिमसँग कम्तीमा चार मैत्रीपूर्ण खेलको व्यवस्था गर्न एन्फा प्रयासमा छ । इंग्ल्यान्डको एक क्लबसहित थाइल्यान्ड र मलेसियासँग मैत्रीपूर्ण खेलका लागि प्रक्रिया सुरु भइसकेको स्रोतले जनाकारी दिएको छ ।

‘कुनै पनि टिमसँग खेल्ने पक्का भने भइसकेको छैन,’ स्रोतले भने, ‘चाँडै निश्चित हुनेछ । त्यसैले लामो अवधिको तयारी सुरु गरिएको हो ।’
स्रोत:कान्तिपुर