Business

चाडबाडले जुर्मुरायो घरजग्गा कारोबार

लामो समयदेखि सुस्ताएको घरजग्गा व्यवसायमा दसैंतिहारले केही रौनक थपेको छ । आयको स्रोत खुलाउने सीमा बढेसँगै बैंकमा तरलता (लगानीयोग्य रकम) वृद्धि भएपछि ग्राहकलाई आकृष्ट गर्न व्यवसायीहरू चाढबाडको मौका छोपेर विशेष छुटको योजना लिएर बजारमा आएका छन् ।

करिब आधा दर्जन कम्पनीले विशेष छुटसहित अपार्टमेन्ट र घरको बुकिङ खोलेका छन् । व्यवसायीका अनुसार हाल ६ हजार अपार्टमेन्ट र १८ सय घर बिक्रीका लागि खुला गरिएको छ । ‘यसमा तयारी अवस्थाका साथै निर्माण भइरहेको योजना पनि परेका छन्,’ जग्गा तथा आवास विकास संघका महासचिव मीनमान श्रेष्ठले भने, ‘बजारमा केही आत्मविश्वास बढेको देखिन्छ ।’ हालका परियोजनाबाट ५ वर्षभित्र निर्माण सकेर हस्तान्तरण हुने उनले बताए ।

यतिखेर व्यवासायीहरू नाफा कम गरेर पनि बिक्री गर्न लालायित छन् । ‘समस्या कारोबार नै ठप्प भएर आएको हो,’ जग्गा तथा आवास विकास संघका सचिव भेषराज लोहनी भन्छन्, ‘अब केही सहज हुने देखिन्छ ।’

एभरेस्ट बैंकले पछिल्लो पटक घर/अपार्टमेन्ट खरिद गर्नेका लागि विशेष योजना ल्याएको छ । ‘योजनाबारे मुलुकभरबाट धेरै राम्रो प्रतिक्रिया आइरहेको छ,’ बैंक स्रोतले भन्यो, ‘एक वर्षसम्म ब्याज नबढाउनुका साथै मर्मत र फर्निसिङलाई समेत ऋण दिने भएकाले ग्राहक आकषिर्त भएका हुन् ।’

घर खरिदकर्ताका लागि यो योजनाले राहत दिएको व्यवसायी बताउँछन् । एभरेस्टबाहेक अन्य केही ठूला बैंकले पनि घर कर्जालाई सरल बनाएका छन् । ‘१३ प्रतिशत ब्याजसम्ममा कर्जा पाउन थालेको देखिन्छ,’ लोहनीले भने । यसअघि घरजग्गा खरिदका लागि दिइने कर्जाको ब्याजदर १७ प्रतिशतसम्म पुगेको थियो ।

राष्ट्र बैंकले पछिल्लो पटक घर खरिद गर्नका लागि ८० लाखसम्म कर्जा दिन सकिने व्यवस्था गरेपछि कारोबार केही सहज भएको व्यवसायी बताउँछन् । ‘यसका साथै मन्त्रिपरिषद्ले १ करोड रुपैयाँसम्मको घर/घडेरी खरिद गर्दा स्रोत नखुलाए हुने प्रावधान पारित परेपछि धेरै ठूलो राहत पुगेको छ,’ श्रेष्ठले भने ।

राष्ट्र बैंकले आवश्यकताभन्दा बढी घरजग्गा क्षेत्रमा लगानी भएको भन्दै लगाएको सीमाभन्दा तल वाणिज्य बैंक आएपछि पनि कारोबार सहज हुन थालेको हो । ‘हाउजिङ व्यवसाय सकारात्मक नै रहेको बुझेका छौं,’ राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने, ‘प्लटिङ लगायतको अनुत्पादक लगानी हामीले रोक्नै खोजेका हौं ।’

आवासीय कर्जा मात्र नभएर केही वाणिज्य बैंकले परियोजनाका लागि पनि ऋण दिन थालेको व्यवसायी बताउँछन् । ‘परियोजनाको गुणस्तर अनुसार केही बैंकले लगानी गर्न थालेका छन्,’ श्रेष्ठले भने ।
स्रोत:कान्तिपुर