Sports

जगजितलाई स्टुटगार्टमा अवसर

नेपाली मिडफिल्डर जगजित श्रेष्ठलाई पहिलो डिभिजनको जर्मन क्लब भीएफबी स्टुटगार्टले एक वर्ष ट्रेनिङ गर्ने अवसर दिएको छ । विश्व फुटबलको महारथी जर्मनीमा यस्तो अवसर पाउने उनी पहिलो नेपाली हुन् ।

जर्मनीका विभिन्न ६ क्लबमा दुई साता बढी ट्रेनिङ गरेपछि १८ वषर्ीय जगजितलाई स्टुटगार्टले अवसर दिएको हो । ‘निकै खुसी लागेको छ,’ १९ दिने जर्मनी यात्रापछि बिहीबार काठमाडौं फर्केका उनले भने, ‘राम्रो गर्नसक्ने सम्भावना देखेर नै मलाई ट्रेनिङको अवसर दिएको हुनुपर्छ । अब ट्रेनिङका लागि जर्मनी जाने प्रयास गर्नेछु ।’

स्टुटगार्टमा एक वर्ष ट्रेनिङ गर्न पाएमा आफ्नो खेलमा निकै सुधार आउने भक्तपुरका जगजितको विश्वास छ । ‘आधुनिक खेलशैली सिक्न सकिन्छ,’ हिमालयन शेर्पासँग आबद्ध उनले भने, ‘त्यो सिकाइले युरोपमा व्यावसायिक फुटबल खेल्ने मेरो सपना पूरा गर्न सक्नेछ । मैले ट्रेनिङमा राम्रो गर्नसके अन्य नेपालीले पनि जर्मनीमा अवसर पाउन सक्नेछन् ।’

नयाँदिल्लीमा मंसिर १६-२६ मा हुने सातौं साफ च्याम्पियनसिपको तयारीमा व्यस्त नेपाली राष्ट्रिय टिममा सामेल हुन उनी जर्मनी यात्रा एक साता छोट्याएर स्वदेश फर्केका हुन् । ‘राष्ट्रिय टिमको ट्रेनिङमा शुक्रबारदेखि सहभागी हुनेछु,’ सहिद स्मारक ‘ए’ डिभिजन लिग-२०६८ का उत्कृष्ट मिडफिल्डर चुनिएका जगजितले भने, ‘तत्काल साफ च्याम्पियनसिपमा ध्यानकेन्दि्रत गर्नेछु । त्यसपछि स्टुटगार्ट जाने प्रक्रिया थाल्नेछु ।’

उनका लागि जर्मनीमा ट्रेनिङको अवसर गैरआवासीय नेपाली नवीन पाण्डेले मिलाइदिएका थिए । उनले भने, ‘ट्रेनिङमा गरेको प्रदर्शनबाट सन्तुष्ट भई स्टुटगार्टले उनलाई थप एक वर्ष युवा टिममा अवसर दिने भएको हो ।’ पहिलो डिभिजनको क्लबमा टे्रेनिङ सुरु गरेपछि प्रक्रिया पुर्‍याएर जगजितले विन्टरदखि १९ वर्षमुनिको बुन्डेस लिगा खेल्न पाउने पाण्डेको बुझाइ छ ।

‘उनी स्टुटगार्ट जाने समय निर्धारण भइसकेको छैन,’ हिमालयन शेर्पाका सल्लाहकारसमेत रहेका पाण्डेले भने, ‘यस्तो मौका नेपाली खेलाडीले पाउनु नै ठूलो हो । त्यसैले यो नेपालका लागि गौरवयोग्य अवसर हो । यसले अन्य नेपाली खेलाडीका लागि पनि अवसरको ढोका खोल्न सक्छ । त्यसैले जगजित इच्छुक भएमा ट्रेनिङ व्यवस्थापनका लागि लगानी गर्न तयार छौं ।’

व्यावसायिक अनुबन्ध नभएकाले एक वर्षे ट्रेनिङ अवधिमा जगजितले पारिश्रमिक भने पाउने छैनन् । मनाङ-मस्र्याङ्दीबाट दुई वर्षअघि सिनियर फुटबलमा डेब्यु गरेका जगजित जर्मनीमा ट्रेनिङ गर्ने चौथो नेपाली फुटबलर हुन् । यसअघि राष्ट्रिय टिमका पूर्वकप्तान उपेन्द्रमानसिंह, हरि खड्का र राजीव नेपालीले जर्मनीमा ट्रेनिङ गरेका थिए । तीनैको ट्रेनिङ अवधि तीन साता थियो ।

पहिलो र दोस्रो डिभिजनको जर्मन लिगलाई ‘बुन्डेस लिगा’ भनिन्छ । बुन्डेस लिगा खेल्ने स्टुटगार्ट, १८६० म्युनिक, रेगेन्सबर्गसहित नेउटिंगन, फुस्र्टेनफेल्डब्रक र हाकिङको घाँसे मैदानमा युवा टिमसँगै जगजितले ट्रेनिङ गरेका थिए । ‘ट्रेनिङको अनुभव निकै राम्रो रह्यो,’ उनले भने, ‘ट्रेनिङ शैली निकै भिन्न र आधुनिक रहेछ ।’

एलियन्ज एरेनामा जर्मन महारथी बायर्न म्युनिकको एससी फाइबर्ग (बुन्डेस लिगा) र म्यानचेस्टर सिटी -युरोपेली च्याम्पियन्स लिग) विरुद्धका खेल हेर्ने अवसर पनि जगजितले पाएका थिए । एन्फा एकेडेमीद्वारा उत्पादित उनले यू-१६ मा छँदा नीराजन मल्ल, शिव श्रेष्ठ र गणेश खड्कासँगै कतारमा पनि एक साता ट्रेनिङ गरेका थिए ।

१९ मार्च, २०११ मा पोखरामा भुटानविरुद्ध भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टिमबाट उनले डेब्यु गरेका थिए । त्यसयता उनले चार क्याप जिते । फिफा वल्र्ड कप-२०१४ मा एसियाली छनोटको पहिलो चरणमा इस्ट टिमोरविरुद्ध उनले एक गोल गरेका थिए ।
स्रोत:कान्तिपुर