Society

काग र कुकुर तिहार किन एकै दिन?

तिथि टुटेका कारण हिजो साँझदेखि सुरु भएको यमपञ्चकको दोस्रो दिन आज काग धार्मिक मान्यताअनुसार काग र कुकुरलाई पूजा गरी विविध खानेकुरा दिई तिहार मनाइँदैछ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज कात्तिक कृष्ण त्रयोदशी उदयकाल पर्दा मनाइने कागतिहार र चतुर्दशी तिथि टुटेकाले आजै कुकुर तिहार सम्पन्न गर्नुपरेको हो।

समितिका अनुसार बुधबार लक्ष्मीपूजा, १० गते गोवर्द्धन पूजा र शुक्रबार भाइटीका गर्नुपर्छ। साइत खोज्नेका लागि भाइटीकाको साइत बिहान ११:५५ मा उत्कृष्ट मानिएको समितिले जनाएको छ।

हाम्रो समाजमा कागलाई सन्देशवाहकका रूपमा पनि लिइन्छ। कसैको घरआँगनमा एकाबिहान काग कराएमा त्यस घरमा पाहुना आउने विश्वास गरिन्छ।

यो दिन कागको पूजा नगरी खाएमा पापको भागी बनिन्छ भन्ने विश्वास छ।

इमानदार पहरेदार जन्तुका रूपमा परापूर्वकालदेखि परिचित कुकुरलाई वर्षमा एकपटक आजको दिन यमदूतका रूपमा पूजा गर्ने चलन छ।

आज गृहस्थीहरूले कुकुरको पूजा गरी माला लगाई खाना खान दिने गर्छन्। आजका दिनलाई ‘नरक चतुर्दशी’ पनि भन्ने गरिन्छ।

आजका दिन बिहान सबेरै नजिकको खोला तथा तलाउमा नुहाई नरक बगाउने गरिन्छ।

सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहिआएको छ।

यमपञ्चकमा काग, कुकुर, गाई र बहरजस्ता पशुपक्षीको पूजा गरी सम्मान गर्नु प्रकृतिका सबै जीवसँग मानव जातिको सह-अस्तित्व रहिआएको छ भन्ने जीवनदर्शनको प्रतीकका रूपमा नेपाली संस्कृतिमा परापूर्वकालदेखि रहेको पाइन्छ।
स्रोत:नागरिक पत्रीका