Society

‘तिहार र पटाकाको धार्मिक सम्बन्ध छैन’

प्रहरीले सोमबारमात्र मख्खन टोलबाट जयराम शाही सहित १२ किलो बराबरको आठ बाकस पटाका पकाउ गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गरी दीपावली तथा छठ पर्वको अवसरमा पटाकाजन्य विष्फोटजन्य पदार्थ नपड्काउन आम जनसमुदायमा आग्रह गर्दागर्दै पनि काठमाडौँबाटै शाही पटाका सहित पक्राउ परे।

प्रहरीले तिहारको पूर्वसन्ध्यामै आइतबार उपत्यकामा पटाका पड्काउने ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

पटाकाजन्य विस्फोटक पद्वार्थ नपड्काउन प्रहरीले राजधानीका विभिन्न स्थानमा माइकिङ समेत गरिरहेको छ, उपत्यका प्रवेश गर्ने नाकामा सवारी साधनमा कडा चेक जाँच भइरहेको छ- प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठ बताउँछन्।

लामो दूरीमा चल्ने सार्वजनिक यातायातका साधन, निजी सवारीसाधन मोटरसाइकलदेखि कार समेत प्रहरीको निगरानीमा परेका छन्। यसका लागि बसका छत र डिक्की, बसमा रहेका बोरा र सर्वसाधारणका झोलासम्म प्रहरीले खानतलास गर्ने गरेको छ।

पटाका नियन्त्रण गर्न मन्त्रीको झन्डा भएका बाहेक शङ्कास्पद सबै सार्वजनिक र निजी गाडीको जाँच गरिरहेका छौँ, प्रवक्ताले थपे।

उपत्यकामा पटाका भित्र्याउन नदिन प्रमुख नाकामा सुरक्षाकर्मीले जाँंचमा कडाइ गरेका छन्, पटाकाको कारोबार गर्नेलाई मात्र होइन, पटाका पड्काउनेलाई समेत कडा कारबाही हुन्छ, -प्रवक्ता श्रेष्ठले भने।

राजधानी भित्रिने प्रमुख नागढुङ्गा, फर्पिङ, कलङ्की, थानकोट, कोटेश्वरलगायतका नाकामा पटाकाजन्य पदार्थ भित्रिन नदिन प्रहरीले गस्ती गरिरहेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले दसैँभन्दा अघिदेखि नै गस्ती सुरु गरिसकेका छन्। सो काम तिहारपछिसम्म पनि चल्नेछ।

पटाका ल्याउन, बिक्री वितरण गर्न रोक्दारोक्दै पनि गत असोज १७ गते कालीमाटीबाट महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले रु.४५ लाख बराबरको दुई ट्रक पटाका सहित मोहन अधिकारीलाई पक्राउ गर्‍यो भने असोज २४ गते विकास महर्जन र अनिल चौरासियालाई रु.१० लाख बराबरको २५ बाकस पटाका नयाँ सडकबाट पक्राउ गर्‍यो।

पटाका सहित पक्राउ परेका तीन व्यक्तिलाई विस्फोटक पद्वार्थसम्बन्धी मुद्दा चलाइएको छ। सो मुद्दाको फैसला उनीहरूको विपक्षमा गएमा उनीहरूलाई दुई वर्ष जेल र जनही रु.एक लाख जरिवाना लाग्नेछ।

प्रहरीले कडाइ गर्दा पनि राजधानीमा लुकीछिपी पटाका पड्काउने क्रम सुरु भएको छ। गत वर्ष पटाकाबाट भएका क्षतिले अझै धेरैलाई झस्काइरहेको छ। यस्ता धेरै पीडा भोग्न बाध्य भएका धेरैले विगत स्मरण गर्दै पीडा पोखिरहेका छन्।

‘बन्दुक पड्केको जस्तो आवाज आयो, पटाका पड्किएको रैछ’, आत्तिएर घरभित्र पसेँ, त्रिपुरेश्वरीकी ४३ वर्षीया प्रमिला हाडाले भनिन्-‘आँखामा परेको थियो, पछि जाँच गर्दा दाहिने आँखाको नानी नै फुटेछ।’ ‘अहिले एउटा आँखा देख्दिन’, अँध्यारो अनुहारमा उनले भनिन्,-‘पटाकाले मेरो संसार हेर्ने ज्योति लग्यो, कसलाई दोष दिऊँ, पटाका पड्काउने साना बच्चा थिए ।’

पटाकाले आफ्नो आँखा गुमाएर दुःखित बनेकी प्रमिला प्रतिनिधि पात्रमात्र हुन्। चाबहिलका १३ वर्षीय रवीन्द्र थापालाई १० वर्षदेखि नै आफ्नो कानको जाली गुमाउनुपरेको पीडा छ।

‘पटाका पड्काउनु तिहार पर्वको नाममा विकृति हो,’ आखाँभरि आँसु पार्दै रवीन्द्रका बुबा भुवनले भने,-‘तिहारमा सरकारले पटाका बिक्रीवितरण गर्न र पड्काउन रोक्नुपर्छ, नत्र बिनाकारण मेरो छोराजस्तै धेरै नेपालीको जिउधनको नाश हुन्छ।’

गत वर्ष पटाका पड्काउँदा बैतडीका चार वर्षीय धीरज तीर्थको दुवै आँखाको ज्योति गुमेको सम्झँदा अहिले पनि मानिसको आङ सिरिङ्ग हुन्छ।

तिहारमा पटाका पड्काएर मनोरञ्जन गर्दा ठूलो जनधनको क्षति भएको छ। प्रमिला, रवीन्द्र र धीरजजस्ता धेरैले आँखाको ज्योति त कतिले कानको श्रवणशक्ति गुमाएका घटना छन्।

तिहार देउसीभैलो खेलेर मनोरञ्जन लिने मुख्य पर्व हो, तर पटाका पड्काएर त्यसबाट आनन्द लिन पटाकाको माग र व्यापार हुने गरेको छ। गत वर्षदेखि सरकारले पटकाजन्य पदार्थमा कडाइ गर्ने भने तापनि पूर्णरूपमा बन्देज लगाउने काम भने गर्न सकेको छैन।

नेपालीको दोस्रो ठूलो पर्व तिहारको धार्मिक तथा सांस्कृतिक महत्व छुट्टै छ। विशेषगरी दाजुभाइ दिदीबहिनीबीचको सम्बन्ध विस्तार गर्ने र देउसीभैलो खेलेर रमाइलोसँग मनाउने प्रचलन रहेको तिहारमा पटाका पड्काएर जनधनको क्षति हुनेजस्ता क्रियाकपालले यो पर्वमा विकृति ल्याएको छ।

तिहारमा पटका पड्काउनाको महत्वका बारेमा कुनै पनि धार्मिक ग्रन्थमा उल्लेख छैन, धार्मिक तथा संस्कृतिविद् डा. गोविन्द टन्डनको भनाइ छ। “तिहार पर्वको धर्म र पटाकासँग सम्बन्ध छैन, पर्वका नाममा पटाका पड्काउनु विकृति हो, सरकार र सचेत सबै नेपाली मिलेर यसलाई रोक्नुपर्ने आवश्यकता छ,’ उनले भने।
स्रोत:नागरिक पत्रीका