Society

आज धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस

धन्वन्तरि जयन्ती एवम् राष्ट्रिय आरोग्य दिवस! विश्वकै प्राचीनतम चिकित्सापद्धति मानिएको आयुर्वेदका प्रणेता भगवान् धन्वन्तरिको उत्पत्ति कात्तिक कृष्ण त्रयोदशीका दिन भएकाले आजकै दिन धन्वन्तरि जयन्ती मनाइँदैछ।

देवता तथा दानव मिलेर वासुकि नागको नेती र मन्दराचल पर्वतको मधानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि अमृत कलश लिएर भगवान् धवन्तरिको उत्पत्ति भएको कुरा पुराणमा उल्लेख छ।

धनतेरस दिवसका रूपमा पनि मनाइने यस जयन्तीलाई चिकित्सकहरूले शुभ सङ्कल्प तथा शुभकार्य प्रारम्भ गर्ने दिनका रूपमा लिने गरेका छन्।

विसं १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस, नरदेवी स्थापना भएदेखि नेपालमा धन्वन्तरि जयन्ती मनाउन थालिएको हो।

नेपालका आयुर्वेद क्षेत्रका सम्पूर्ण व्यक्तिले नेपाल आयुर्वेद चिकित्सक सङ्घको पहलमा २०५६ सालदेखि आजका दिनलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाउने गरेका छन्।

हातमा आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिएका भगवान् धन्वन्तरिलाई आयुर्वेद चिकित्साक्षेत्रका व्यक्तिहरूले नरदेवी क्याम्पस, सिंहदरबार वैद्यखाना तथा सामाखुसीस्थित धन्वन्तरि अस्पतालमा विभिन्न कार्यक्रमको आयोजनाका साथ पूजाआजा गरी स्मरण गर्दछन्।
स्रोत:नागरिक पत्रीका