Society

गुठी संस्थानमा दरबन्दीबिनै १५ कर्मचारी नियुक्ति

काम नपाएर भएकै कर्मचारी फुर्सदिला बनिरहेका बेला गुठी संस्थानका प्रशासक बलीराम प्रसाद साह तेलीले प्रक्रियै नपुर्‍याई आफु निकट १५ जनालाई संस्थानमा कर्मचारीको रुपमा नियुक्त गरेका छन्।

हिन्दू युवा संघका संस्थापक अध्यक्ष काशिनाथ तिवारीको हत्याको मुख्य अभियुक्तको रुपमा पर्सा अदातलमा मुछा दायर भएपछि तेलीले हतार हतार आफु निकट कर्मचारी नियुक्त गरेका हुन्।

प्रतिस्पर्धाको आधारमा कर्मचारीको नियुक्ति गर्ने सरकारी मापदण्ड विपरित तेलीले आफु निकट १ अधिकृत, ७ जना नायव सुव्वा, ६ जना खरिदार र १ कार्यालय सहायक नियुक्त गरेका हुन्। ‘प्रशासकको निर्णय बमोजिम संस्थानमा १५ जना कर्मचारी थप भएका छन्,’ संस्थानका सहप्रशासक हेमराज सुवेदीले नागरिकसंग भने ‘माथिल्लो तहबाट भएको कामको हामीले टिप्पणी गर्न मिल्दैन।’ उनले नियुक्त गरिएका सवै कर्मचारीले आइतबार देखिनै काम थालेको बताए।

गत हप्ता मात्रै राजीनामा दिएका तिवारी हत्याकाण्डका आरोपी पुर्व भूमि सुधार मन्त्री प्रभु शाहले तेलीलाई महिना दिन अघि मात्रै प्रशासकमा नियुक्त गरेका थिए। भने तेलीको नाममा अदालतले हाजिर हुन आदेश जारी गरिसकेको छ।

‘संस्थानमा कार्यरत १ सय ३० जना कर्मचारीलेनै काम नपाइरहेको वेलामा प्रशासकले एकलौटी निर्णयमा कर्मचारी थपे,’ संस्थानका एक अधिकृतले भने ‘संस्थान घाटामा गएर भएका कर्मचारीलाई समेत तलव खुवाउन नसकेको वेलामा किन कर्मचारी थप्नुपर्‍यो?’ उनले हत्याको आरोपमा फरार अभियुक्तलाई पक्राउ गर्नुको सट्टा उसले कर्मचारी थप्दै हिडेपनि सरकारले कारवाही नगरेको आरोप लगाए।

संस्थानका अध्यक्ष हरि प्रसाद शर्माले प्रशासक तेलीलाइ हत्याको आरोपमा अदालतले हाजिर हुन आदेश दिइसकेकाले उनले नैतिक रुपमा राजीनामा दिनुपर्ने बताए। ‘हत्याको आरोप मात्रै लागेका मन्त्री शाहले राजीनामा दिए,’ शर्माले भने ‘तर अदालतले हाजिर हुन आदेश दिइसकेका हत्याका अभियुक्तले दैनिक सरकारी काम सञ्चालन गरिरहनु अचम्मै छ।’ शर्माका अनुसार अभियुक्त तेली दैनिक रुपमा संस्थान आएर आफ्नो काम सञ्चालन गरिरहेका छन्।

राजनीतिक भर्ति केन्द्र बनाइएका कारण संस्थान नोक्सानमा भएको भन्दै छ महिना पहिले संसदको प्राकृतिक स्रोत साधन समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यहाँ कुनै कर्मचारी नियुक्त नगर्न निर्देशन दिएका थिए। यस विषयमा तेलीसंग कुरा गर्न खोज्दा उनले कुनै प्रतिक्रिया दिन चाहेनन्।
स्रोत:नागरिक पत्रीका