Society

पार्किङको टुंगोपछि मात्रै नयाँ गाडी दर्ता

नयाँ सवारी साधन किन्नेले पार्किङ स्थलको सुनिश्चितता देखाएपछि मात्रै यातायातबाट दर्ता पाउने भएका छन्। बढ्दो सवारी चापले ट्राफिक जाम बढेकाले त्यसलाई रोक्न सरकारले यो उपाय अपनाउन लागेको हो।

‘अब पार्किङ गर्ने ठाउँको सुनिश्चितता देखाएपछि मात्रै सवारी दर्ता हुनेछ,’ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहप्रवक्ता एकमणि नेपालले भने, ‘यसका लागि नीतिगत व्यवस्था गर्न श्रम तथा यातायात मन्त्रालयलाई अनुरोध गरिसकिएको छ।’

यात्रुवाहक सवारी साधनले व्यापारिक प्रयोजनका सामान नबोक्ने, सिट क्षमताभन्दा बढी यात्रु नबोक्ने र काठमाडौं चक्रपथलाई पार्किङ निषेध गर्ने तयारी भइरहेको समेत उनले जानकारी दिए। उनका अनुसार सार्वजनिक यातायातका सवारी साधनको छतमा क्यारियर राख्न नपाइने र हाल भइरहेकालाई निश्चित अवधि तोकी हटाउन निर्देशन दिन यातायात व्यवस्था विभागलाई अनुरोध गरिएको छ।

सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले असोज १ गतेको भूकम्पबाट पीडित भएकालाई हालसम्म दुई करोड ५२ लाख ७७ हजार रुपैयाँ राहत वितरण गरिसकेको जानकारी दिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता द्वारिकाप्रसाद आचार्यले ‘काठमाडौं जिल्ला शिक्षा कार्यालयले विद्यालयहरूबाट दसैं खर्च उठाएको’ जनगुनासो आएको भन्दै त्यसबारे छानबिन गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिइसकिएको बताए। भद्रकाली जंगी अड्डा बीचको बाटो खोल्न प्रधानमन्त्रीले भनेबमोजिम सम्बन्ध्ति निकायलाई निर्देशन दिइए पनि जवाफ आइनसकेको उनले जानकारी दिए।
स्रोत:नागरिक पत्रीका