Society

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

उच्चमाध्यामिक शिक्षा परिषदले असोज २८ मा सञ्चालन गरेको कक्षा १२ को मौका परीक्षाको नतिजा मङ्गलबार प्रकाशित गरेको छ। परीक्षामा कक्षा ११ पास भएको र कक्षा १२ मा एक विषयमा फेल भएका ३१ हजार १ सय ८२ विद्यार्थी सम्मलित थिए।
जसमा २५ हजार ८ सय १८ विद्यार्थी पास भएका छन्। प्रतिशतमा यो ८२.८० हुन आउँछ।

नियमिततर्फ परीक्षा दिएका विद्यार्थी एक विषयमा मात्र फेल भएकै कारण एक वर्ष खेर नजाओस् भन्ने उदेश्यले उच्चमाध्यामिक शिक्षा परिषदले विद्यार्थीलाई मौका दिएको परीक्षा उपनियन्त्रक सन्तोषकुमार अर्यालले जनाए। परीक्षा दिएका विद्यार्थीमध्ये अङ्ग्रेजी विषयमा फेल भएका धेरै विद्यार्थीको सहभागिता रहेको अर्यालले बताए।
गत वर्ष पुरक परीक्षामा ८० .३९ मा पास भएका थिए। गत वर्षको तुलनामा यस वर्ष करिब तीन प्रतिशत विद्यार्थी बढी पास भएका हुन्।

विद्यार्थीले उपत्यकाको कोटेश्वर, हेटौंडा, विराटनगर, जनकपुर, पोखरा, बुटवल, धनगढी र नेपालगन्ज कार्यालयबाट प्रमाणपत्र पाउने व्यवस्था गरिएको परिषदले जनाएको छ। पुरकमा पास भएका विद्यार्थीले नतिजा प्रकाशन भएको सात दिनपछि परिषदको ८ वटा कार्यालयबाट माइग्रेसन, प्रोभिजनल र ट्रान्सक्रिप्ट पाउन सक्छन्। उपत्यका बाहिरका विद्यार्थीले परिषदमै डबल दस्तुर तिरेर यस्ता सेवा लिन सक्ने अर्यालले बताए।
स्रोत:नागरिक पत्रीका