Politics

प्रभु साहलाई जबर्जस्ती मुछियो : दाहाल

माओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्वभुमिसुधार मन्त्री प्रभु साहलाई जबर्जस्ती हत्यामा मुछिएको दाबी गरेका छन्।

‘तराईमा दर्जनौं माओवादी कार्यकर्ता मारिँदा कोही नबोल्ने तर हत्यामा संलग्न नहुँदा पनि साहलाई जबर्जस्ती मुछिएको छ,’ दाहालले वीरगन्जमा सोमबार आयोजित भोजपुरा राज्य कमिटीको शुभकामना आदानप्रदान कार्यक्रममा भने।

‘साह दोषी हो-होइनन् भन्ने अनुसन्धान मिडिया बहस चलाएर हुँदैन,’ उनले भने। हिन्दु कार्यकर्ता काशी तिवारीको हत्यामा मिडियाले साहलाई दोषी बनाएको भन्दै उनले आपत्ति जनाए। ‘अनुसन्धान निकायले यस बिषयमा भिन्नै ढंगले सोच्नुपर्छ,’ दाहालले भने।

प्रतिपक्षीले ‘खुद्रामसिना कुरा उचालेर वातावरण धमिलो पारी माछा मार्ने कोशिश गरेकाले’ साहलाई राजीनामा दिन आग्रह गरेको उल्लेख गर्दै दाहालले उनको पक्षमा सिंगो पार्टी रहेको बताए।

उनले साहका बिषयमा सुरक्षा संयन्त्र ‘बायस’ भएको दाबी गरे। ‘कसैको धाक, धम्की र प्रलोभनमा परेर निर्दोषलाई दोषी देखाउने काम भएको छ,’ उनले मञ्चमै बसेका साहको अनुहार नियाल्दै भने। साहले मञ्चबाटै दिपावली र छठको शुभकामना दिए।

यही मञ्चमै तीन साताअघि काशी तिवारीकी पत्नी पतिको हत्यारालाई कारबाही माग गर्दै आमरण अनशन बसेकी थिइन्।

माओवादी सचिव सिपी गजुरेलले पार्टीभित्र जति बढी बहस र संघर्ष चल्छ, उति एकताबद्ध हुने बताए। ‘हामी फुट्दैनौं, उहाँहरू फुट्नु हुन्न,’ गजुरेलले भने, ‘कसले पार्टी फुटाउँछ?’
स्रोत:नागरिक पत्रीका