Politics

एक महिनाभित्र शान्ति-प्रक्रिया टुङ्गिन्छ, संविधानको खाका आउँछ : दाहाल

एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले अबको एक महिनाभित्र शान्ति प्रक्रिया टुङ्गिने र संविधानका खाका बाहिर आउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शान्ति र संविधान बन्न नदिनका लागि केही तत्वहरू अगाडि आउन खोजिरहेकाले त्यसप्रति सचेत रहनुपर्ने उनले बताए।

नेपाल सम्बत् ११३२ नयाँ वर्षको उपलक्ष्यमा एमाओवादी भोजपुरा राज्य कमिटीद्धारा आज स्थानीय घण्टाघरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने- ‘अबको एक महिनाभित्रमा शान्ति-प्रक्रियाको मूलभूतः कार्य सकिन्छ र संविधानको खाका बाहिर आउँछ।’

अध्यक्ष दाहालले एमाओवादी र मधेसी मोर्चाबीचको एकता अग्रगामी परिवर्तनको पक्षमा भएको उल्लेख गर्दै यो एतिहासिक अवसर हो र यस अवसरलाई सङ्घीयता, आत्मनिर्णयको अधिकार र स्वशासनसहितको संविधान निर्माण नभएसम्म कुनै पनि हालतमा गुम्न दिन नहुने बतँए।

जस्तोसुकै परिस्थिति आए पनि आफ्नो पार्टी फुट्दैन, बरु त्यसबाट पाठ सिकेर अझ बढी एकबद्ध भएर अघि बढ्छ भन्दै उनले शान्ति-प्रक्रियाप्रति इमान्दारिताका साथ अघि बढिरहेको बेलामा विभिन्न आग्रह, पूर्वाग्रह, भय र त्रास देखाएर एमाओवादीका नेता/कार्यकर्तालाई झूठा मुद्दामा फसाउने कार्य अविलम्ब रोक्न र सत्यका पक्षमा लाग्न प्रहरी प्रशासनलाई आग्रह गरे।
स्रोत:नागरिक पत्रीका