Politics

कङ्ग्रेस-एमाले बैठक सकियो, माओवादीसहित साँझ ६ बजे अर्को बैठक

संविधान सभाका दोस्रो र तेस्रो ठूलो दल कङ्ग्रेस र एमालेको बैठक सकिएको छ। बैठकले दुई दलबीचको समान धारणामाथि छलफल गर्दै यसलाई के/कसरी अघि बढाउने भन्नेबारे पनि वार्ता गर्‍यो। उनीहरुले यसअघि दुई दलले अघि सारेका संयुक्त प्रस्तावकै आधारमा सँगै अघि बढ्ने पनि बताएका छन्।
आज माओवादीसहित तीनै दलको बैठक बस्ने भनिएको थियो। तर माओवादीले आन्तरिक तयारी नपुगेको भन्दै यो बैठकमा नबस्ने बताएपछि दुई दल बसेका थिए। अब साँझ ६ बजे तीनै दलका नेता सम्मिलित बैठक बस्ने जानकारी एमाले नेता भीम रावलले दिए।

आजको बैठकले शान्ति र संविधान निर्माणबारे प्याकेजमै सहमति खोज्ने दोहोर्‍याएको छ। शान्ति र संविधानलाई समग्रतामा टुङ्ग्याउनुपर्ने विषयमा दुवै दल एकमत नै भएको रावलले बताए। यसअघि नै दुवै दलले शान्ति प्रक्रिया र संविधान निर्माणबारे समान धारणा सार्वजनिक गरिसकेका छन्। उनीहरुले ५ हजार लडाकुमात्र समायोजन गर्न सकिने भनेका छन् भने माओवादीले चाहिँ ७ हजार भनिरहेको छ।

त्यसैगरी माओवादीकै वैद्य पक्षले भने शान्ति प्रक्रिया र संविधान निर्माण सँगै लैजानुपर्ने बताउँदै पहिले लडाकु समायोजन नगर्न पार्टीलाई चेतावनी दिँदै आएको छ। उसले कङ्ग्रेस र एमालेले अघि सारेका प्रस्तावलाई सर्तका रुपमा लिँदै त्यसलाई फिर्ता नलिएसम्म शान्ति प्रक्रिया अघि नबढ्ने दाबी पनि गर्दै आएको छ।
स्रोत:नागरिक पत्रीका