Politics

महरा निवासमा माओवादीको ‘मिलन’ बैठक

माओवादीभित्र चुलिएको विवाद मिलाउन नेता कृष्णबहादुर महराको निवासमा बैठक भएको छ। संस्थापन पक्षबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल र असन्तुष्ट पक्षबाट उपाध्यक्ष मोहन वैद्यले बैठकको नेतृत्व गरेका थिए।
बैठकमा वैद्य पक्षले शान्ति र संविधान निर्माण एकैसाथ अघि बढाउनुपर्ने, मधेसी मोर्चासँग भएको चार बुँदे सच्याउनुपर्ने र भारतसँग भएको बिप्पा सम्झौता खारेज गर्नुपर्ने माग राखेका थाहा भएको छ। त्यसैगरी उनीहरुले कङ्ग्रेस र एमालेले भनेजस्तो शान्ति प्रक्रिया टुङ्ग्याएरमात्र संविधान निर्माणमा जान नहुने अडान पनि राखेका स्रोतले बताएको छ।

वैद्यपक्षीय रामबहादुर थापा, देव गुरुङ, सिपी गजुरेललगायत् नेतासमेत सहभागी बैठकमा अध्यक्ष दाहालले उनीहरुलाई मनाउने प्रयास गरेका थिए। पार्टीभित्र विवाद चुलिँदै गएर व्यक्तिगत लाञ्छनासमेत लाग्न थालेपछि यो मामलामा निष्क्रिय जस्तै रहँदै आएका महरा त्यसलाई मिलाउन अघि सरेका हुन।

बैठक करिब २ घन्टा चलेको थियो।
स्रोत:नागरिक पत्रीका