Business

नयाँ कम्पनीको सेयर कारोबार प्रभावित

सेयर बजार उचाइमा रहेका बेला बनाइएको नियमका कारण सूचीकृत हुने नयाँ कम्पनीका सेयरधनी मर्कामा पर्न थालेका छन् । सूचीकृत हुने कम्पनीको सेयर मूल्य नेटवर्थको न्यूनतम ३ वा अधिकत ५ गुणा हुनुपर्ने प्रावधानका कारण नयाँ कम्पनीको कारोबार प्रभावित भइरहेको छ ।

नियमका कारण १ सय रुपैयाँ नेटवर्थ हुने कम्पनीको सूचीकृत हुँदा न्यूनतम मूल्य ३ सय रुपैयाँ हुन जान्छ । पछिल्लो समय ठूला कम्पनीकै सेयर मूल्यमा उच्च गिरावट आएकाले नयाँ कम्पनीमा ठूलो लगानी गर्न आकर्षण नभएर कारोबार हुन नसकेको हो । यसबाट करिब एक दर्जन कम्पनीको सेयर कारोबार प्रभावित भएको छ ।

‘मूल्य उच्च भएर कारोबार नभएपछि सेयर रजिस्ट्रारकोमा लगानीकर्ताको गुनासो आउन थालेको छ,’ मर्चेन्ट बैंकर्स संघका अध्यक्ष भीष्म चालिसेले भने, ‘घटेर बिक्री गर्न खोज्दा पनि नभएको भन्दै गुनासो गर्न आउँछन् ।’

दुइ वर्षअघि सूचीकृत हुनेबित्तिकै सेयर मूल्य आकासिएपछि एक्सचेन्जले यो नियम लागू गरेको हो । ‘६ सयको सेयर एकै पटकमा २१ सय र सूचीकृत कम्पनीको सेयर एकैदिनमा १५ सय पुगेपछि यसलाई रोक्नुपर्ने आवाज उठेको थियो,’ सेयर बजार विश्लेषक रविन्द्र भट्टराई भन्छन्, ‘पछिल्लो समयमा बजारको अवस्था परिवर्तन भइसके पनि नेप्सेले यसलाई मिलाउन सकेको छैन ।’

सूचीकृत भएका कम्पनीेको सेयर विक्रेताले कम मूल्यमा बिक्री गर्न खोज्दा नपाउने अवस्था छ । स्टक एक्सचेन्जकै नियम अनुसार एक कारोबारमा २ प्रतिशत भन्दा बढी मूल्य घटाएर कारोबार गर्न पाइँदैन । दिनको हिसाब गर्दा यो १० प्रतिशतभन्दा कम हुन सक्दैन । ‘यसरी सेयर मूल्य घट्न लामो समय लाग्छ,’ स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष अन्जन पौडेल भन्छन्, ‘राम्रो प्रतिफल दिने कम्पनीको प्रतिसेयर मूल्य समेत ३ सयको हाराहारीमा रहेकाले नयाँ कम्पनीको खरिद गर्ने कमै हुन्छन् ।’ पछिल्लो समय सूचीकृत कम्पनीको सेयरमा बिक्री चाप मात्र रहेको उनी बताउँछन् । ‘बिक्री गर्ने धेरै छन्,’ उनले भने, ‘तर खरिदकर्ता यसमा आकषिर्त हुन सकेका छैनन् ।’

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले भने सञ्चालक समितिको आगामी बैठकबाट निर्णय गराएर सुधार गर्ने बताएको छ । ‘हामीले सुधारका लागि प्रस्ताव तयार राखेका छौं,’ नेप्से स्रोतले भन्यो, ‘सञ्चालक समितिको आगामी बैठकले यसलाई पारित गरेपछि सुधार हुने छ ।’ पुरानो नियमका कारण मूल्य उच्च भए पनि कारोबारमै समस्या नआएको दाबी नेप्सेको छ । ‘कारोबार नै नभएको भने होइन,’ स्रोतले भन्यो, ‘४ दिनमा सेयर मूल्य वास्तविक अवस्थामा आउने गरेको छ ।’ केही दिनमा मूल्य कम भएर वास्तविक अवस्थामा आए पनि सुधार आवश्यक रहेको उनले बताए । ‘बजारको अवस्था अनुसार यसको आवश्यकता छ,’ उनले भने, ‘सञ्चालक समितिको बैठक लामो समय नबसेकाले यस्तो भएको हो ।’

पछिल्लो समय कारोबारमा समस्या देखिएका संस्थामा फाइनान्स कम्पनी र सानो क्षेत्र भएका विकास बैंक बढी छन् । ‘उच्च प्रतिफल दिने वाणिज्य बैंकका सेयरको मूल्य न्यूनतम बिन्दुमा आएर खरिदकर्ता नभएको अवस्थामा प्रतिफल ग्यारेन्टी नभएका संस्थाको सेयर कसले महँगोमा खरिद गर्छ,’ एक सेयर दलालले भने, ‘बजारकै आकर्षण घटेको समयमा नयाँ कम्पनी र त्यसका लगानीकर्तालाई मर्का परेको देखिन्छ ।’

पछिल्लो समय सेयरको मापक नेप्स परिसूचक ३ सय २५ को हाराहारीमा छ । परिसूचक २०६५ भदौ १५ मा हालसम्मकै उच्च ११ सय ७५ मा पुगेर घटेको हो । आइतबार सबैभन्दा आकर्षक मानिने वाणिज्य बैंक उपसमूहको सूचक २ सय ८० बिन्दुमा झरेको छ । सरकारले सेयर धितो कर्जा खुकुलो बनाएर केही सुविधा थपे पनि सेयर बजारमा अपेक्षित सुधार आएको छैन । ऋणको ब्याजदर उच्च हुनु र लगानीकर्ताको तुलनामा सेयर संख्या बढी रहनुले बजारलाई असर गरेको विश्लेषक बताउँछन् ।
स्रोत:कान्तिपुर