Sports

लोगो सार्वजनिक

सुदूरपश्चिमाञ्चलमा हुने छैटौं राष्ट्रिय खेलकुदको लोगो राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार सार्वजनिक गरेको छ ।

धनगढी र महेन्द्रनगरमा फागुन १४ देखि २१ सम्म हुने प्रतियोगिताका लागि लोगो काठमाडौंका जीवन राजोपाध्यायले तयार गरेका हुन् । उनी १८ प्रतिस्पर्धीमध्ये अब्बल रहे ।

राखेपले लोगोका लागि असोज २ मा सार्वजनिक आह्वान गरेको थियो भने राखेपका वरिष्ठ अधिकृत कमल खनालको संयोजकत्वमा प्रेस सल्लाहकार दिवस गुरागाईं र काठमाडौं विश्वविद्यालयका कला विभाग प्रमुख सुजन चित्रकार रहेको छनोट समिति गठन गरेको थियो ।

‘हामीले पहिलो चरणमा सहभागी १८ प्रतिस्पर्धीका लोगोमध्ये तीन वटालाई छनोट गरेका थियौं,’ छनोट समितिका संयोजक खनालले भने, ‘राष्ट्रियता, खेलकुद र सुदूरपश्चिम झल्कने विषयलाई ध्यान दिएका छौं ।’

उनले राष्ट्रिय लोगोमा राष्ट्रिय झन्डा, ओलम्पिक रंग, खेलाडी, सुदूरपश्चिमको परम्परागत देउडा नृत्य, खेल ट्रयाक र शान्तिको प्रतीक परेवालाई समेटिएको जानकारी दिए । राजोपाध्यायले पुरस्कारस्वरूप ४० हजार रुपैयाँ पनि प्राप्त गरे ।
स्रोत:कान्तिपुर