National

वाईसीएल क्याम्पमा झडप/ वैद्य पक्षधर २ घाइते

वाईसीएल क्याम्पमा अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्य पक्षधर कार्यकर्ताबीचको झडप हुँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा गोबिन्द वली (सविन) र अजय कश्यप (विजय) हुन् ।

वलीको पेट र पिठ्युँमा चोट लागेको छ । पेटमा छुरा प्रहार हुँदा मुस्किलले बाँचेको वलीले बताए । यसैगरी घाँटीमा खुकुरी प्रहारबाट अजय सामान्य घाइते छन् । उनीहरू दुवैलाई हानेको प्रहारसँगैका सहकर्मीहरूले छेकेकाले गम्भीर चोट लागेन ।

शनिबार बेलुकी ९ बजेतिर टेलिभिजन हेर्दै लुँडो र चेस खेलिरहेको अवस्थामा दाहाल पक्षका ८/१० जनाले आक्रमण गरेको घाइतेले बताए । ‘मादक पदार्थ सेवन गरेका श्रीमान् विक र सन्तोष गुरुङले एक्कासि आक्रमण गरे’, घाइतेद्वयले भने, ‘अन्य साथीले छुट्टयाएका कारण थप घटना हुन पाएन ।’ अत्यन्तै नियोजित तरिकाबाट आक्रमण भएको भन्दै घाइतेले यस विषयमा संस्थापन पक्ष मौन रहेकाले धेरै शंका उब्जाएको बताए । सुरुमा चन्द्रबहादुर कुमाल र पूर्ण रावललाई सन्तोष गुरुङले बाहिर जाऔं भनेका थिए । तर केही कुरा भए यहीं गरौं बाहिर नजाने भनेपछि धकेलाधकेल भएको र लगत्तै गालीगलौजसाथ आक्रमण गरिएको प्रत्यक्षदर्शी डिलबहादुर सुनारले बताए । कात्तिक ४ गते माओवादी महासचिव रामबहादुर थापाले तनहुँको दमौलीमा दिएको प्रशिक्षणमा सहभागी भएको आरोपमा वलीमाथि आक्रमण भएको र शनिबारको घटना त्यसैको निरन्तरता रहेको वैद्य पक्षको आरोप छ । भाइटीकाको दिन रुकुम रोल्पाकाले मात्रै क्रान्ति गर्ने हो र भन्दै वैद्य पक्षधर एक कार्यकर्तालाई दाहाल पक्षकाले थप्पड लगाएका थिए । पीडितले राजकुमार दुलालको योजनामा आक्रमण भएको बताए । घटनापछि क्याम्पमा केहीबेर रुवावासी र भागाभाग भएको थियो । घाइतेलाई नजिकैका सहिद मेमोरियल अस्पतालमा उपचार गराएकोमा पछि अध्यक्ष पक्षधर खोज्दै गएपछि त्यहाँ पनि तनावग्रस्त भएको थियो । विक र गुरुङ अक्कलझुक्कलमात्र क्याम्पमा आउने वैद्य पक्षधरको दाबी छ ।

करिब ५० जना बस्ने क्याम्प अहिले कसैको कमाण्ड तथा नियन्त्रणमा छैन । क्याम्पमा वैद्य पक्षधर कार्यकर्ता बढी भएपछि संस्थापनबाट सेवा सुविधा कटौती गरी नाकाबन्दी गरिएको र साथीलाई तड्पाउन खोजिएको वैद्य समूहका कास्की सहइन्चार्ज कञ्चन खनालले बताइन् । खनालले आइतबार विज्ञप्ति जारी गरी वैचारिक र राजनैतिक मतभेदको बहसमा केन्दि्रत हुनुको साटो गुण्डागर्दी शैलीमा हत्या गर्ने नियतसहित कुटपिट गरिएको बताएकी छन् । घटनालगत्तै पार्टी इन्चार्ज झलकपाणि तिवारीको निवासमा रहस्यमयरूपमा एकपक्षीय बैठक बसेको र घटनाको लामो समयसम्म पनि नेतृत्व पूरै उदासिन देखिनुले घटनाप्रति आशंका पैदा भएको उनले बताइन् ।

यता माओवादी कास्की इन्चार्ज तिवारीले घटना सबै झूटमा आधारित भएको बताए । ‘क्याम्पभित्र शनिबार राति कुनै घटना नभएको र गोबिन्द वली पार्टीको कुनै कमिटीमा छैनन्,’ तिवारीले भने, ‘जाँड खाने व्यक्ति बाटोमा लड्न सक्छ तर त्यसलाई कुटपिट र झडप भन्न मिल्दैन ।’
स्रोत:कान्तिपुर