National

पेस्तोलसहित २ पक्राउ

प्रहरीले चाइनीज पेस्तोल र गोलीसहित दुईलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा राङभाङ- ९ घर भै पोखरा मालेपाटन बस्ने ३४ बर्षीय सन्तोष भन्ने यमबहादुर गुरुङ र पोखरा- ९ बसपार्क सुकुम्बासीटोलका २३ बर्षीय तेजबहादुर नेपाली छन् ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका गुरुङले गत मंगलबार तरबार र नक्कली पेस्तोल देखाएर घर परिवार तथा छिमेकीलाई मार्ने धम्की दिएका थिए । त्यसपछि पक्राउ गुरुङलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा गुरुङसंग सक्कली पेस्तोल रहेको र उक्त पेस्तोल नेपालीलाई राख्न दिएको खुलेपछि दुवैलाई पक्राउ गरिएको थियो ।

दुवैलाई हातहतियार तथा खजाना मुद्दा चलाई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक यादवराज खनालले बताए । खनालका अनुसार गुरुङसंग २२०४४३३ को चाइनिज पेस्तोल, म्याग्जीन १ थान र २ राउण्ड गोलीसमेत बरामद गरिएको छ ।

दुवैजनालाई पेस्तोलसहित सोमबार प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो ।

यसैबीच दसैं र तिहारमा प्रहरीले १ हजार २ सय ५७ पुरुष र ८० महिला गरी १ हजार ३ सय ३७ जनालाई विभिन्न अभियोगमा पक्राउ गरेको छ । उनीहरुमध्ये १ सय ३२ पुरुष ५ महिलालाई कारबाही गरिएको र अन्यलाई अनुसन्धानपछि छाडिएको प्रनाउ तुलबहादुर कार्कीले बताए ।

कारबाही मध्ये कर्तब्य ज्यानमा २, बहुबिबाहमा २, सवारी ज्यानमा ४, जुवा, ३६, सार्वजनिक अपराधमा ७१, चोरीमा ४, अपहरणमा १, जबरजस्ती करणीमा २, लागूऔषधमा १५ र हातहतियार खरखजानामा २ जना छन् ।
स्रोत:कान्तिपुर