National

बोक्सीको नाम बकाउन कुटपिट

कार्तिक १४ – एक दलित वृद्धलाई स्थानीय युवाले जबर्जस्ती बोक्सीको नाम बक्न दबाब दिँदै कुटपिट गरेका छन् ।

खानीगाउँ ८ किटिनीका ४५ वर्षे साधुराम विकलाई त्यहाँका मगर समुदायका युवाले जबर्जस्ती गाउँमा बोक्सीको नाम भन्न दबाब दिएका हुन् । शनिबार साँझ स्थानीय केशव थापामगरमाथि देउता चढेको भन्दै कामेर उनले साधुराम विकलाई गाउँमा भएका बोक्सीको नाम बक्न भन्दै छिमेकी भगवान थापा र शरद थापा मगरले कुटपिट गरेका थिए । पाँच घर विक परिवार रहेको किटिनीमा २७ घर मगर छन् ।

देउता चढेका केशवले आफू कालीनाग भएको भन्दै तलाई नागले बेरेर मारिदिन्छु अन्यथा बोक्सी को को हुन् भन्दै कुट्न थालेपछि ज्यान जोगाउन साधुरामले आफू, आफ्नो परिवार र गाउँका अरू केही व्यक्ति गरी आठ जनाको नाम उल्लेख गरेका थिए । थापा समुदायका व्यक्तिहरूको कुटाइपछि साधुरामको मुखबाट केही व्यक्तिको नाम बोक्सी भएको भन्ने शब्द निस्केपछि युवाले थप प्रमाणित गर्न दबाब दिँदै आइतबार बिहानसमेत हात बाँधेर कुटेका थिए । कुटाइबाट साधुरामको टाउकामा चोट लागेको छ । देव्रे गाला सुन्निएको छ । गाउँलेका अनुसार ३५ वषर्ीय केशवलाई यसअघि भने कहिल्यै देउता चढेको थिएन ।

एक महिनाअघि भोटु थापा मगरको भंैसी बिरामी भएपछि गाउँलेले आफ्नो परिवारलाई बोक्सीको नाम भन्न नाटकीय रूपमा देउता चढेको बहाना बनाउँदै कुटेको साधुरामकी श्रीमती कृष्णमायाले बताइन् । गाउँमा सामान्य झाँक्रीको काम गर्ने आफूलाई गाउँलेले झाँक्रीको मुखबाट निस्केको शब्द सही हुने भनेपछि प्रयोग गरेको साधुरामले बताए । उनले भने, ‘आफू जान्ने झाँक्री नभएको र कसैले अह्राए झारफुकमात्र गर्ने गरेको हो ।

कुटेर जबर्जस्ती बोक्सी नाम भन्न काम्ने केशव भने आफू कामेको समयमा कोसँग कस्तो व्यवहार गरेको भन्ने याद नभएको बताउँछन् । प्रहरीले घटनामा केशवसहित दुई युवालाई नियन्त्रणमा लिएको छ । गाउँमा नाटकीय रूपमा बोक्सी बक्के र बकाउने विवाद भएपछि गाउँलेबीच पनि विवाद बढेको छ ।
स्रोत:कान्तिपुर