National

उपचार अभावमा दुई बालक अपांग, रक्तस्रावले सुत्केरीको मृत्यु

सानो घाउको पनि समयमै उपचार हुन नसक्दा गरिब बस्तीका २ बालक अपांग बनेका छन् । राईगाउँ भैंसेका १४ वर्षीय वीरबहादुर थिङ र ९ वर्षीय राशरण पहरी समयमा उपचार नपाएर जिन्दगीभर अपांग बने । लठ्ठीको सहाराले वीरबहादुर हिँड्डुल गर्छन् भने पहरी खोच्याएर यताउति गर्छन् ।

विपन्न बस्तीका यी दुई बालकको मेरुदण्डलगायत शरीरको विभिन्न भागमा आएको खटिराको उपचार नहुँदा उनीहरू अपांग बनेका हुन् । ५ वर्षको उमेरमा वीरबहादुरको शरीरको पछाडिमा भागमा घाउ खटिरा आएको थियो ।

दुवै एउटै स्कुलमा पढ्छन् तर कक्षा भने फरक छ । पहरी दुईमा र वीरबहादुर चार कक्षामा पढ्छन् । काम गर्न नसक्ने भएकाले अभिभावकले यी दुई बालकलाई स्कुल पठाएका हुन् । काम गर्न सक्ने उनका भाइ, दाइ, दिदी-बहिनीलाई स्कुल पठाएका छैनन् । दाहिने खुट्टा खोच्याएर हिँड्ने पहरीको ४ वर्षको उमेरमा ढाडमा खटिरा र घाउ आएको थियो । स्वास्थ्य चौकीमा गएर उपचार नगरी झारफुक गरेका थिए । शरीरको पछाडिको मेरुदण्डमा आएको घाउ खटिराले उनी पनि ९ महिना थला परेका थिए । घाउ सुक्दै गएपछि उठेर हिँड्ने क्रममा उनले पनि खुट्टा टेक्न सकेनन् ।

रक्तस्रावले सुत्केरीको मृत्यु

रुकुम- दुर्गम राङ्सी गाविसमा अत्यधिक रक्तस्रावका कारण आइतबार एक सुत्केरीको मृत्यु भएको छ । उपचार अभावमा राङ्सी-४ की २६ वर्षीया देउरूपा कामीको मृत्यु भएको हो ।

शनिबार बिहान बच्चा जन्माएकी देउरूपाको अत्यधिक रक्तस्रावले ज्यान गएको स्थानीय शिक्षक दलजित पुनले बताए । २४ घन्टासम्म रक्तस्राव भए पनि उपचार हुन नसक्दा मृत्यु भएको हो । गाउँ नजिकैको जंगलमा देउरूपाले बच्चा जन्माएकी थिइन् । जंगलमा बच्चा जन्माएकाले तत्काल स्याहारसुसार अभावमा रगत बगेको आफन्तले बताए । ‘रातभरि रगत बगिरह्यो,’ पुनले भने, ‘उपचारका लागि रुकुमकोटस्थित स्वास्थ्य चौकी लैजाँदैगर्दा बाटैमा मृत्यु भएको हो ।’ उनका अनुसार बच्चाको स्वास्थ्य भने राम्रो छ । नजिकै स्वास्थ्यचौकी नभएकाले बेलैमा उपचार हुन सकेन ।
स्रोत:कान्तिपुर