Business

चेक बाउन्सका उजुरी बढे

बूढानीलकण्ठका सन्नी गुरुङ अचेल हरेक दिन काठमाडौं प्रहरी परिसर धाउने गरेका छन् । छिमेकीलाई दिएको १ करोड १० लाख रुपैयाँ उठाउन उनी प्रहरी कार्यालय जाने गरेका हुन् ।

छिमेकी सुनिल श्रेष्ठलाई दिएको ऋण फिर्ता नपाएको भन्दै उनी प्रहरीकहाँ जाने गरेका हुन् । त्यसो त उनले श्रेष्ठबाट चेक पाएको पनि बताए । ‘एक हप्तापछि लिन जानु भनेकाले बैंकमा गएको श्रेष्ठले त्यो खाता नै बन्द गरिदिएछन्,’ गुरुङले भने, ‘यत्रो पैसा माया मार्ने कुरै आएन, दुःख मात्र पाइयो ।’

गुरुङकै छिमेकमा फाइबर ग्लासको पसल चलाउँदै आएका श्रेष्ठले जग्गाको कारोबारका लागि केही दिनलाई पैसा चाहिएको भन्दै लगेको उनको दाबी छ । गुरुङको उजुरीमा काठमाडौं परिसरले श्रेष्ठलाई पक्रेको पनि थियो । पक्राउ गरी बूढानीलकण्ठ प्रहरी प्रभागमा बुझाइएका श्रेष्ठ त्यहाँबाट फरार भए । प्रभागका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले काठमाडौं परिसरमा पुर्‍याउनुपर्ने व्यक्तिलाई भगाएको भन्दै उनीसँग स्पष्टीकरण समेत मागिएको छ ।

घरजग्गा र सेयरको कारोबारमा आएको सुस्ततासँगै कमोडिटिज बजारमा पनि चहल पहल बढेपछि यतिखेर चेक बाउन्स भएका उजुरी बढ्न थालेका छन् । काठमाडौं प्रहरी प्रमुख एसपी राजेन्द्र श्रेष्ठका अनुसार ऋण तिर्न भरिदिएको चेक बाउन्स भएको भन्दै प्रहरीमा उजुरी बढेका छन् ।

इन्टरनेटबाट सुनको कारोबार गर्न लिएको ऋण समयमा तिर्न नसक्दा अभिशेक खरेल असोज ३० देखि काठमाडौं प्रहरीको थुनामा छन् । असनका राम अग्रवालले उनी विरुद्ध चेक बाउन्सको मुद्दा दायर गरेका हुन् । खरेलले बैंक अफ काठमाडौंमा रहेको खाताबाट पैसा निकाल्न उनलाई ६३ लाख रुपैयाँको चेक काटिदिएका थिए । अग्रवाल पैसा लिन जाँदाँ खातामा पैसा नभएपछि उनले खरेल विरुद्ध उजुरी दिएका हुन् ।

घरजग्गा र सेयरमा लगानी गरेकाले धेरैको पैसा ठप्प हुँदा रोकिएकाले बाउन्स चेक बढेको एसपी श्रेष्ठ बताउँछन् । उजुरी परेका मध्ये ७५ प्रतिशत मुद्दा जग्गाको लेनदेन नमिलेको, बैना लगेर पास नगरिदिएपछि फिर्ता मागेको प्रकृतिका छन् । जग्गाको कारोबार गर्ने पंकज अधिकारी पनि चेक बाउन्सकै अभियोगमा फरार छन् । काठमाडौंका गगन प्रधानबाट झन्डै डेढ करोड ऋण लगेका उनले दिएको चेक बाउन्स भएको थियो ।

प्रधानका अनुसार अधिकारीले आपmनो सबै रकम जग्गामा भएको भन्दै उनले दुई महिनामा फर्काउने सहमतिमा पैसा लगेका थिए । पैसा नदिएपछि प्रधानले प्रहरीमा उजुरी हालेपछि छलफलका लागि अधिकारीलाई बोलाइएको थियो । भोलिपल्ट पैसाको बन्दोबस्त गर्छु भन्दै हिँडेका अधिकारी श्रीमतीसहित फरार छन् । प्रहरी प्रमुख श्रेष्ठले उनको खोजी भइरहेको बताए ।

आर्थिक कारोबार गर्दा कागज गरेर वा नगरी दिने ऋण फिर्ता गर्ने म्यादमा ऋणीले फिर्ता नगरिदिएपछि ताकेता गर्न जाँदा चेक काटेर पठाइदिने गरेको पाइएको छ । काठमाडौं प्रहरीले २० हजारदेखि ५ करोडसम्मका बाउन्स चेकको उजुरी पर्ने गरेको जनाएको छ ।

‘एक हप्तापछि बैंकमा लिन जानु खातामा पैसा हुन्छ भनेर पठाउँछन्,’ काठमाडौं परिसरका एक प्रहरी अधिकृतले भने, ‘खातामा पैसा नराखी मान्छे फरार भइसकेका हुन्छन्, कतिले खाता नै बन्द गराइसकेका हुन्छन् ।’

एसपी श्रेष्ठ बाउन्स चेकका चार सय उजुरी अनुसन्धानको क्रममा रहेको बताउँछन् । ‘पहिलो चरणमा आपसमै मिल्न दिन मुद्दा दायर नगरी अर्को पक्षलाई बोलाउने गर्छौं,’ उनले भने, ‘छलफलका क्रममा पनि नमिलेपछि मुद्दा दर्ता गर्छौं ।’ उनले बाउन्स चेकमा मुद्दा दर्ता हुने बित्तिकै व्यक्ति पक्राउ गर्दा प्रहरीको थुनुवा कक्ष त्यस्तै थुनुवाले नै भरिने बताए । ‘अन्य मुद्दाकालाई राख्न अपुग थुनुवा कक्षमा बाउन्स चेकका पनि राख्दा भार धान्न सक्तैन,’ उनले भने ।

यसरी चेक बाउन्स भए सम्बन्धित बैंकले कसुरवारलाई कालोसूचीमा समेत राख्न सक्ने प्रावधान रहेको एक बैंकर बताउँछन् । ‘एकपटक बाउन्स भए फेरि अर्को मौका दिइन्छ,’ उनले भने, ‘त्यसमा पनि नभए उक्त व्यक्तिलाई कालोसूचीमा समेत राख्न सक्ने प्रावधान छ ।’ कालोसूचीमा परेपछि कुनै पनि बैंकिङ कारोबार गर्न पाइँदैन ।
स्रोत:कान्तिपुर