शिक्षा

‘रमाइलो पढाइ’ मोबाइल एप सञ्चालनमा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवश्रोत विकास केन्द्रले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा थप सहयोग पुर्याउन ‘रमाइलो पढाइ’ मोबाइल एप (Ramailo Padhai) सञ्चालनमा ल्याएको छ ।

गुगल प्ले स्टोरमा उपलब्ध सो सामग्रीबारे केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई जानकारी गराई प्रयोगमा ल्याउन आग्रह गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को आर्थिक सहयोग र केन्द्रको संयोजकत्वमा बनाइएको सो सामग्री शिक्षक र अभिभावकले सजिलै प्रयोग गर्न सक्नेछन् ।

एन्ड्रोइड मोबाइल एपमा पाठ्यक्रम विकास केन्द्रद्वारा विकास र प्रकाशन गरिएको ५६ वटा रोचक कथा र कवितालाई नेपाली भाषामा रेकर्ड गरी तिनका चित्र पुस्तक पनि समावेश गरिएका छन् । यसमा नेपाली भाषालगायत १० स्थानीय भाषामा रेकर्ड गरिएका विभिन्न चेतनामूलक रेडियो सन्देश तथा रेडियो कार्यक्रम पनि समाविष्ट छन् । रेडियो कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षाका शिक्षकलाई कक्षा कोठामा सहयोगी हुने शिक्षण उपायसहितका सामग्री, रेडियो नाटक र विशेष अतिथिसँगको रमाइला कथाहरू समेटिएका छन् ।

केन्द्रका निर्देशक माधवप्रसाद दाहालका अनुसार सो एप सम्बन्धमा स्थानीय तहका शिक्षा शाखा तथा जिल्लाभरिका सामुदायिक विद्यालयलाई जानकारी गराई प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र प्रारम्भिक कक्षा पढाइ उपसमितिका सदस्यमार्फत दौँतरी शिक्षक र अभिभावकलाई प्रयोग विधिसहित जानकारी दिइएको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।