राजनीति

नेपाली कांग्रेसको आन्तरिक विवाद समाधानतर्फ पहल: केन्द्रीय कार्यसमिति बैठक स्थगित, संस्थागत प्रक्रियाबाटै सहमति खोजिने

काठमाडौं — नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न नेतृत्वस्तरमा संवाद र सहमतिको प्रयास तीव्र बनेको छ। सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठक छोटो समयमै स्थगित गर्दै बुधबार बिहान ८ बजेका लागि पुनः बोलाइएको छ। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले विवाद समाधान संस्थागत पद्धतिबाटै गरिने स्पष्ट पारेका छन्।

केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता महतले पार्टीको विधान, निर्णय र आधिकारिक संरचनाभन्दा बाहिर गरिने गतिविधिले कसैको हित नगर्ने बताए। “पार्टी एकताबद्ध भएर अघि बढ्दा मात्रै नेता–कार्यकर्ताको सम्मान र भविष्य सुरक्षित हुन्छ,” उनले भने, “विभाजित मानसिकता त्यागेर संस्थागत प्रक्रियामा फर्किनु नै आजको आवश्यकता हो।”

डा. प्रकाशशरण महत - प्रवक्ता, नेपाली कांग्रेस

उनले पार्टीभित्र फरक विचार, क्षमता र योग्यता भएका नेताहरूलाई समेटेर लैजान संस्थापन पक्ष तयार रहेको उल्लेख गर्दै एजेन्डा, विधान संशोधन वा अन्य प्रस्तावहरू भए केन्द्रीय कार्यसमितिको आधिकारिक च्यानलबाटै आउनुपर्नेमा जोड दिए। विशेष महाधिवेशनको माग गर्दै समानान्तर गतिविधि अघि बढाउने प्रयासले पार्टी कमजोर हुने उनको भनाइ थियो।

मंगलबार साँझ साढे ७ बजे सुरु भएको केन्द्रीय समिति बैठक करिब एक मिनेटमै स्थगित गरिएको थियो। उपसभापति धनराज गुरुङले विशेष महाधिवेशन पक्षधरसँग वार्ता सकारात्मक दिशामा अघि बढिरहेको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरेका थिए। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले डाकेको बैठक सुरु हुनुअघि नै बाहिरिएका थिए भने विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा बैठकमा सहभागी भएनन्।

प्रवक्ता महतका अनुसार, “अहिले पार्टीलाई विभाजनतर्फ लैजान कसैलाई फाइदा छैन। नेपाली जनता र देशका लागि पनि कांग्रेस एकताबद्ध रहनु अपरिहार्य छ।” उनले कांग्रेसलाई प्रजातन्त्रको ऐतिहासिक धरोहरका रूपमा चित्रण गर्दै नयाँ वा पुराना अन्य दलले कांग्रेसले दिएको विश्वसनीयता दिन नसक्ने दाबी गरे।

शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच पार्टी विभाजन रोक्न वार्ता समिति गठन गरी निरन्तर छलफल भइरहेको छ। यही संवादको परिणामस्वरूप सहमतिका आधार तयार पार्न बैठक स्थगित गरिएको नेताहरूले बताएका छन्।

बुधबार बिहान बस्ने केन्द्रीय कार्यसमिति बैठकले कांग्रेसको आन्तरिक विवाद समाधानको दिशामा ठोस संकेत दिने अपेक्षा गरिएको छ। पार्टी नेतृत्वको प्राथमिकता भने स्पष्ट छ—विवाद होइन, संवाद; विभाजन होइन, एकता।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।