राजनीति

रास्वपा–उज्यालो नेपाल पार्टीबीचको एकता सहमति दुई सातामै भंग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबीच भएको पार्टी एकताको सहमति दुई साता नबित्दै भंग भएको छ। पुस १४ गते भएको सहमतिपछि करिब १२ दिनसम्म चलेको छलफल शनिबार निष्कर्षविहीन बनेपछि एकता प्रक्रिया अघि नबढ्ने दुवै पक्षले पुष्टि गरेका छन्।

Source: Balen/FB

कसरी टुट्यो एकताको प्रक्रिया

रास्वपाका अनुसार उज्यालो नेपाल पक्षबाट पार्टी संरचना र पदाधिकारीका विषयमा पूर्वसहमतिभन्दा फरक मागहरू आएपछि सहमति कार्यान्वयन हुन सकेन। रास्वपा स्रोतहरूले वरिष्ठ उपसभापति, महामन्त्रीलगायत पद र पार्टीको नाम परिवर्तनसमेत प्रस्ताव भएको दाबी गरेका छन्। यी विषयमा सहमति नजुटेपछि एकता प्रक्रिया रोकिएको पार्टीको भनाइ छ।

रास्वपाका प्रवक्ता मनिष झाले पार्टी सचिवालय बैठकले उक्त प्रक्रिया अघि नबढ्ने निर्णय गरेको जानकारी दिँदै, सहमति अझै औपचारिक रूपमा पार्टी संरचनाबाट अनुमोदन नभइसकेको अवस्थामा रहेको बताए। उनका अनुसार यो निर्णय सभापति रवि लामिछानेको एकल नभई सामूहिक छलफलपछि गरिएको हो।

कुलमान घिसिङको आरोप: एकतर्फी निर्णय

उता, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भने रास्वपाले एकतर्फी रूपमा सहमति भंग गरेको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सहमति कार्यान्वयनका लागि अन्तिम समयसम्म आफूहरू लचक भएर प्रयासरत रहे पनि रास्वपाले एकाएक प्रक्रिया तोडेको बताए।

घिसिङले आफू र पार्टीका लागि ती १२ दिन अत्यन्तै अन्योल र पीडादायी भएको उल्लेख गर्दै पदको ठूलो बार्गेनिङ गरिएको भन्ने आरोप अस्वीकार गरे। उनले रास्वपामा साधारण सदस्य भएर बस्नसमेत तयार रहेको, तर समावेशीता, संघीयता र आफ्ना केही सहकर्मीलाई समायोजन गर्ने विषयमा कुरा नमिलेको बताए।

बालेन शाहसहित अन्तिम प्रयास असफल

दुवै पक्षका अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) समेत सहभागी भएर शनिबार लामो छलफल भएको थियो। तर ती प्रयासहरू पनि सहमतिमा पुग्न सकेनन्। अन्तिम छलफलपछि रास्वपाले एकता प्रक्रिया अघि नबढ्ने जानकारी दिएको र त्यसलगत्तै उज्यालो नेपाल पार्टीले आफ्नो अलग पहिचानसहित अघि बढ्ने निर्णय गरेको हो।

उज्यालो नेपाल पार्टी पुनः सक्रिय

एकता भंग भएसँगै कुलमान घिसिङ औपचारिक रूपमा उज्यालो नेपाल पार्टीको सदस्य बनेका छन् र केन्द्रीय समितिको निर्णयबाट अध्यक्ष चयन भएका छन्। उनले पार्टीलाई देशव्यापी रूपमा विस्तार गर्ने र आगामी निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने घोषणा गरेका छन्।

सरकारमा मन्त्री रहेका बेला पार्टी गठन गरेका घिसिङले नैतिक प्रश्न उठेपछि यसै साता पदबाट राजीनामा दिएका थिए। रास्वपासँगको एकता प्रक्रिया टुटेपछि अब दुवै दल आ–आफ्नो रणनीतिसहित आगामी राजनीतिक यात्रामा अघि बढ्ने देखिएको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकएक्स् मा पनि जोडिन सक्नुहुन्छ ।