मुख्य समाचार राजनीति

नेकपा (एमाले) को चुनावी घोषणापत्र सार्वजनिक: ५ वर्षमा १०० खर्बको अर्थतन्त्र र मासिक २५ हजार न्यूनतम पारिश्रमिकको लक्ष्य

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। 'समृद्ध नेपाल, सुखी नेपाली' को राष्ट्रिय आकाङ्क्षालाई पुनः केन्द्रविन्दुमा राख्दै पार्टीले आगामी पाँच वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब रुपैयाँ पुर्‍याउने महत्त्वाकाङ्क्षी लक्ष्य अघि सारेको छ।

काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको ८० पृष्ठ लामो घोषणापत्रमा आर्थिक वृद्धि, सामाजिक सुरक्षा र पूर्वाधार विकासका २५ वटा आधार स्तम्भहरू प्रस्तुत गरिएको छ।

आर्थिक मार्गचित्र: १०० खर्बको जिडिपी र आय वृद्धि

एमालेले आफ्नो नेतृत्वमा सरकार बनेको पाँच वर्षभित्र नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) लाई वर्तमानको तुलनामा करिब दोब्बर बनाउँदै १०० खर्ब रुपैयाँ पुर्‍याउने संकल्प गरेको छ। यस्तै, १० वर्षभित्र अर्थतन्त्रको आकार २०० खर्ब पुर्‍याउने दीर्घकालीन मार्गचित्र पनि प्रस्तुत गरिएको छ।

यस लक्ष्य प्राप्तिका लागि वार्षिक ७ देखि ९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र आगामी पाँच वर्षमा प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने एमालेको दाबी छ। निर्यातलाई पाँच वर्षमा तेब्बर बनाउने र आयातको कम्तीमा एक चौथाइ अंश निर्यातले नै धान्ने गरी औद्योगिक विकास गर्ने योजना घोषणापत्रमा उल्लेख छ।

तत्काल कार्यान्वयन हुने ११ प्राथमिकता

निर्वाचनपछि गठन हुने पहिलो मन्त्रिपरिषद् बैठकबाटै कार्यान्वयन सुरु गरिने भनिएका ११ वटा बुँदालाई एमालेले 'ग्यारेन्टी' का रूपमा अघि सारेको छ:

  • युवा र प्रविधि: १८ देखि २८ वर्षका युवालाई एक वर्षसम्म मासिक १० जीबी इन्टरनेट डाटा निःशुल्क र युवा उद्यमीलाई १० हजार डलरसम्मको 'डलर कार्ड' सुविधा।
  • शिक्षा र रोजगारी: प्राविधिक उच्च शिक्षाका लागि विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण। वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने र न्यूनतम पारिश्रमिक मासिक २५ हजार रुपैयाँ पुर्‍याउने।
  • मातृ-शिशु र महिला: गर्भवतीलाई २० हजार रुपैयाँ पोषण भत्ता, ५ लाखको निःशुल्क जीवन बीमा र महिला उद्यमीलाई २० लाखसम्म निर्ब्याजी ऋण।
  • सामाजिक सुरक्षा र ऋण मिनाहा: वैदेशिक रोजगारीमा रहेका श्रमिकको खातामा वार्षिक ५ हजार रुपैयाँ थप गरिदिने। गरिब पहिचान भएका परिवारले २०८२ भदौसम्म बैंकबाट लिएको २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने।
  • स्वयंसेविका र शिक्षक: स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्ता वार्षिक २० हजार पुर्‍याउने र शिक्षकहरूको मर्यादाक्रम निर्धारण गर्ने।

पूर्वाधार र विकासका योजना

एमालेले आगामी दुई वर्षभित्र सबै नेपालीको घरमा आधारभूत खानेपानी पुर्‍याउने र पाँच वर्षभित्र थप ३ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य राखेको छ। विद्युत् उत्पादन र प्रतिव्यक्ति खपतलाई दोब्बर बनाउने, नेपाल-भारत अन्तरदेशीय रेलमार्ग निर्माण सम्पन्न गर्ने र सबै गाउँपालिकालाई बाह्रै महिना चल्ने सडकले जोड्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

पार्टीले पछिल्लो राजनीतिक आन्दोलनका क्रममा क्षति पुगेका सिंहदरबार र सर्वोच्च अदालत लगायतका सार्वजनिक संरचनाहरू एक वर्षभित्र पुनर्निर्माण गर्ने योजना पनि समेटेको छ।

सामाजिक र कूटनीतिक दृष्टिकोण

घोषणापत्रमा ज्येष्ठ नागरिक, दलित र एकल महिलालाई दिइँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने र सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्ने उल्लेख छ। परराष्ट्र सम्बन्धको सवालमा एमालेले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतालाई सर्वोपरी राख्दै छिमेकी तथा अन्य राष्ट्रहरूसँग सम्मानजनक सम्बन्ध कायम गर्ने नीति लिएको छ।

अध्यक्ष ओलीले यो घोषणापत्र केवल चुनावी प्रचार मात्र नभई कार्यान्वयनयोग्य योजना भएको दाबी गर्दै देशमा व्याप्त निराशा चिर्न 'एमालेको विकल्प नभएको' जिकिर गर्नुभयो। उहाँले अनुभवी पुस्ताको दृष्टि र युवा पुस्ताको ऊर्जा मिलाएर देश बनाउने धारणा राख्नुभयो।

हेर्नुहोस् एमालेको चुनावी घोषणापत्र-

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकएक्स् मा पनि जोडिन सक्नुहुन्छ ।