समाज

भिटिएम नहुँदा भारतबाट आएकाहरुको स्वाव संकलनमा समस्या

कोरोना भए नभएका बारेमा पत्ता लगाउन गरिने पिसिआर टेष्टका लागि व्यक्तिको स्वाव संकलन गर्ने भाँडा भाइरस ट्रान्सपोर्ट मिडिया नहुँदा रुकुम (पश्चिम) मा स्वाब संकलनमा समस्या भएको छ। भारत तथा देशका विभिन्न ठाउँबाट आएका व्यक्तिलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा राखिए पनि भिटिएम नहुँदा अधिकांशको स्वाब संकलन हुन सकेको छैन।

हाल जिल्लाका ६ स्थानीय तहमा रहेका क्वारेन्टिनमा एक हजार ३०२ जना रहेकामा तीमध्ये निकै कमको मात्र स्वाब संकलन गरिएको छ। अहिलेसम्म क्वारेन्टिनमा रहेका २७७ जनाको मात्र स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ।

चौरजहारी नगरपालिकाका १८१ जनाको स्वाब कर्णाली जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र आठबीसकोट नगरपालिकाका ६२, मुसीकोट नगरपालिकाका ३२ तथा सानीभेरी गाउँपालिकाका दुई गरी ९६ जनाको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको छ। त्यसको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

जिल्लामा भिटिएम नहुँदा क्वारेन्टिनमा रहेका एक हजार २५ जनाको भने अझै कोरोना परीक्षण हुन नसकेको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिए। शुरुमा प्रदेशले पठाएका केही भिटिएमबाट स्वाब संकलन गरिएकामा त्यसपछि स्वास्थ्य सेवा कार्यालयले खरीद गरेका भिटिएमबाट स्वाब संकलन गरिएको थियो।

कार्यालयले खरीद गरेको चार सय भिटिएमबाट भारत तथा तेस्रो मुलकबाट आएका, तिनीहरुको सम्पर्कमा रहेका र देशका विभिन्न ठाउँबाट आएका व्यक्तिको स्वाब संकलन गरिएकामा अहिले भिटिएम नरहेको फोकल पर्सन रावलको भनाइ छ। स्वास्थ्य सेवा कार्यालय र जिल्लाका स्थानीय तहले भिटिएम खरीद गर्न खोजे पनि नपाएका कारण कोरोना परीक्षणमा ढिलाइ भइरहेको उनको भनाइ छ।

जिल्लाका लागि ठूलो मात्रामा भिटटिएम खरीद प्रक्रिया चलिरहेको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताए। स्वास्थ्य सेवा कार्यालयले पाँच हजार भिटिएम खरीद गर्न लागेको र जिल्लाका स्थानीय तहले पनि भिटिएम खरीद गर्ने प्रयास गरिरहेको उनको भनाइ छ।

मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले दुई सय भिटिएम खरिद गर्न लागिएको बताए। नगरमा करीब तीन सय व्यक्ति क्वारेन्टिनमा छन्। तीमध्ये धेरैमा कोरोना जाँच हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।