समाज

पहिलो दिनमै कोशीपारी क्षेत्रका ५३ लाई नागरिकता

जिल्ला प्रशासन कार्यालय काभ्रेले सोमबारदेखि सुरु गरेको एकीकृत घुम्ती शिविरअन्तर्गत कोशीपारी क्षेत्रका ५३ जनाले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन्। ११ गतेसम्म कात्तिके देउराली गाविसमा सञ्चालन हुने शिविरमा नागरिकता वितरणसँगै फोटोसहितको मतदाता नामावली संकलन कार्य समेत भइरहेको प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले काभ्रे टाइम्सलाई जानकारी दिनुभयो । कात्तिके देउराली केन्द्रको शिविरमा कोशीपारी क्षेत्रको पोखरीचौरी, विर्ता देउराली, मादनकुडारी, गोठपानी, धुसेनी सिवालय लगायतका सर्वसाधारणलाई सदरमुकामको सरकारी सेवा सुविधा प्रदान गरिएको छ । शिविरमा एक सय जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । प्रशासन कार्यालयले कोशीपारीको चौबासमा १२ गते र भुम्लुटार गाविसमा १३ र १४ गते शिविर सञ्चालन गर्ने भएको छ । बैशाख ३० गतेसम्म चल्ने शिविर शिखरआम्बोटे हुँदै जिल्लाको अति दुर्गम डाँडापारी क्षेत्रमा पर्ने घर्तीछाप र साल्मेचाकल गाविसमा गएर समापन गरिने बताइएको छ । शिविरमा स्वास्थ्य, कृषि, पशु सेवाका साथै अपाङ्ग परिचय पत्र वितरण, विवाह, जन्म, मृत्यु, बसाईसराई दर्ता लगायत स्थानीय पञ्जिकरणको सेवा सुविधा समेत उपलब्ध गराइएको छ।

यसैबीच प्रहरीले जुवाडेको साथबाट बरामद गरेको रकम जिल्ला बालकल्याण समितिलाई बुझाएको छ । हालै धुलिखेलबाट नियन्त्रणमा लिएका ५ जना जुवाडेको साथबाट बरामद ३२ हजार रकम सोमबार बालकल्याण समितिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक कृष्णजी अधिकारीले जानकारी दिनुभयो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।