खेलकुद

झापा गोल्डकपको उपाधि पहिलोपटक मछिन्द्रलाई, एपीएफलाई ३–१ ले हराउँदै १५ लाखसहित च्याम्पियन

ऐतिहासिक जितसँगै मछिन्द्रको पहिलो उपाधि

झापाको सुरुङ्गामा सम्पन्न सातौँ झापा गोल्डकप 'विनोद बस्नेत स्मृति' अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ। फाइनल खेलमा मछिन्द्रले सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै पहिलोपटक झापा गोल्डकपको ट्रफी उचालेको हो।

उपाधिसँगै मछिन्द्रले नगद १५ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो भने उपविजेता एपीएफले ७ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो। यस संस्करणमा अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि राखिएको आयोजकले जनाएको छ।

सातौँ झापा गोल्डकप फाइनलपूर्ण समय
मछिन्द्र फुटबल क्लब
३ - १
एपीएफ फुटबल क्लब
३१'प्रदीप बुढाथोकी
४५+१'फ्र्याङ्क अनोह
७६'🟥मानबहादुर राना मगर
८२'दीपेश धिमाल
८३'एलिसन अलिजोनोभ

खेलको निर्णायक मोड: पहिलो हाफमै अग्रता

मछिन्द्रले खेलको ३१औँ मिनेटमा अग्रता लिएको थियो। विदेशी खेलाडी अयोला हमजातको पासमा स्ट्राइकर प्रदीप बुढाथोकीले गोल गर्दै टोलीलाई अघि बढाएका थिए। पहिलो हाफको इन्जुरी समयमा देवेंद्र तामाङको लामो प्रहारलाई फ्र्याङ्क अनोहले गोलमा परिणत गरेपछि मछिन्द्र २-० को बलियो स्थितिमा पुग्यो।

दोस्रो हाफमा एपीएफले दबाब बढाउने प्रयास गर्‍यो। तर ७६औँ मिनेटमा डिफेन्डर मानबहादुर राना मगर दोहोरो पहेँलो कार्डका कारण रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि एपीएफ १० खेलाडीमा सीमित भयो।

८२औँ मिनेटमा विश्वास उदासको फ्रिकिकलाई मछिन्द्रका रक्षापंक्तिले क्लियर गर्न नसक्दा दीपेश धिमालले गोल गर्दै अन्तर घटाए। तर त्यसको एक मिनेटपछि नै हमजातकै कर्नरमा डिफेन्डर एलिसन अलिजोनोभले हेडरमार्फत गोल गर्दै मछिन्द्रको जित सुनिश्चित गरे।

व्यक्तिगत अवार्डमा पनि मछिन्द्रकै वर्चस्व

फाइनल खेलका 'प्लेयर अफ द म्याच' मछिन्द्रका प्रदीप बुढाथोकी घोषित भए। उनले २५ हजार रुपैयाँ नगद पुरस्कार पाए।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रकै पेमा तामाङ घोषित भए। उनले यामाहा मोटरसाइकल प्राप्त गरे। उत्कृष्ट गोलकिपर विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक प्रवेश कटवाल तथा सर्वाधिक गोलकर्ता जोनाथन जोरिल्ला घोषित भए। उनीहरूले जनही ३५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।

यसैबीच, नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य नरोत्तम गौतमलाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो।

अन्तर्राष्ट्रिय सहभागिता र दर्शक पुरस्कार

प्रतियोगितामा नेपालका तीन विभागीय टोली—नेपाल पुलिस क्लब, एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लब—सहित ‘ए’ डिभिजनका विभिन्न क्लब तथा भारत, भुटान र मलेसियाका क्लबहरूको सहभागिता रहेको थियो।

फाइनल खेल हेर्न टिकट काटेका दर्शकमध्ये गोलाप्रथाबाट बिर्तामोडकी प्रीति मोक्तानले यामाहा स्कुटर प्राप्त गरिन्।

यस वर्षको प्रतियोगिता झापा गोल्डकप व्यवस्थापन समितिका पूर्वअध्यक्ष स्वर्गीय विनोद बस्नेतको स्मृतिमा समर्पित गरिएको थियो।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकएक्स् मा पनि जोडिन सक्नुहुन्छ ।