मुख्य समाचार राजनीति

देउवा पक्ष निर्वाचन आयोगमा, ‘आधिकारिक नेपाली कांग्रेस पार्टी हामी नै’ दाबी

दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएसँगै पार्टीको आधिकारिकता कसको भन्ने प्रश्न अब निर्वाचन आयोगसम्म पुगेको छ। सभापति शेरबहादुर देउवा पक्षका शीर्ष नेताहरू शुक्रबार बिहान काठमाडौँस्थित निर्वाचन आयोगमा उपस्थित भएर देउवा नेतृत्वकै कार्यसमिति आधिकारिक भएको दाबी गरेका छन्।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा आयोग पुगेका नेताहरूमा शेखर कोइराला, विमलेन्द्र निधि, रमेश लेखक, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरूङ, धनराज गुरूङ, मीनेन्द्र रिजाल, महालक्ष्मी उपाध्याय ‘डिना’, सुजाता कोइराला, एनपी साउद, नैनसिंह महर, जीतजंग बस्नेतलगायत रहेका छन्। उनीहरूले आयोगका पदाधिकारीसँग प्रत्यक्ष भेट गरी आफ्नो पक्षको दाबी र कागजात प्रस्तुत गर्ने तयारी गरेका छन्।

देउवा पक्षका नेता कल्याण गुरूङले आयोगमा उपस्थित हुनुको उद्देश्य स्पष्ट पार्दै भने, “केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति र भ्रातृ संगठनका प्रतिनिधिसहित हामी यहाँ आएका छौं। देउवा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक पार्टी हो भन्ने कुरा आयोगलाई जानकारी गराउन र छलफल गर्न आएका हौं।”

यसअघि, विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा बिहीबार नै निर्वाचन आयोग पुगेर नयाँ नेतृत्वको विवरण अद्यावधिक गर्न निवेदन दिएका थिए। त्यसको भोलिपल्टै देउवा पक्ष आयोग पुगेपछि कांग्रेसभित्रको विवाद सार्वजनिक रूपमै संवैधानिक निकायसम्म पुगेको छ।

आयोग परिसरबाहिर भने तनावपूर्ण वातावरण देखिएको छ। देउवा पक्ष निकट भ्रातृ संगठन नेपाल तरुण दलका कार्यकर्ताहरू बिहानैदेखि आयोग अगाडि धर्नामा बसेका छन्। केही नेताहरूले आयोग घेराउसम्मको तयारी भएको बताएका छन्, जसले स्थितिलाई थप संवेदनशील बनाएको छ।

देउवा पक्षले विशेष महाधिवेशन विधिसम्मत रूपमा आव्हान नगरिएको र गगन–विश्वप्रकाश समूहको नेतृत्वमा बनेको कार्यसमिति अवैध भएको दाबी गरिरहेको छ। उता गगन थापा पक्षले भने विधिअनुसार महाधिवेशन सम्पन्न भएको र नयाँ निर्वाचित कार्यसमितिलाई अद्यावधिक गर्नु आयोगको दायित्व भएको तर्क अघि सारेको छ।

दुवै पक्षले आयोगमा पत्र, हस्ताक्षर र कागजात बुझाइसकेका छन्। निर्वाचन आयोगले दुवै दाबी अध्ययन गरिरहेको र कानुनी प्रक्रिया अनुसार निर्णय लिने जनाएको छ। आयोगको निर्णयले कांग्रेसको आधिकारिक नाम, चुनाव चिन्ह ‘रुख’ र झण्डामाथि कसको अधिकार रहने भन्ने निर्णायक प्रश्न टुंगो लगाउनेछ।

आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा यो विवादले कांग्रेसको संगठन, चुनावी तयारी र मतदातामाझको सन्देशमा गहिरो असर पार्न सक्ने राजनीतिक विश्लेषकहरू बताउँछन्। आयोगको निर्णयबाट समस्या समाधान नभए यो विवाद सर्वोच्च अदालतसम्म पुग्न सक्ने सम्भावना पनि देखिएको छ।

तस्बिरहरु: प्रदीपराज वन्त/रासस

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।