मुख्य समाचार राजनीति

निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता

काठमाडौं — नेपाली कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको नेतृत्व र आधिकारिकताको विवादमा निर्णायक मोड आएको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार नेपाली कांग्रेसको आधिकारिक नेतृत्वका रूपमा मान्यता दिएको छ।

शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले कांग्रेसको विशेष महाधिवेशन संविधान, कानून र पार्टी विधानअनुसार भएको ठहर गर्दै सो महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो। आयोगको यो निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरू वैधानिक रूपमा लागू हुने भएका छन्।

आयोगका स्रोतका अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्त सगुन शमशेर राणाले गगन थापा नेतृत्वको समितिलाई मान्यता दिने पक्षमा मत दिएका थिए। अर्का आयुक्त जानकी तुलाधरले भने फरक मत राखेका थिए। बहुमतका आधारमा आयोगले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक ठहर गरेको हो।

राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको सहभागितामा गगन थापा सभापतिमा निर्वाचित भएका थिए। सभापतिमा चयन भएपछि थापाले केन्द्रीय समिति बैठकको निर्णयसहित आवश्यक कागजात र प्रमाण निर्वाचन आयोगमा पेस गरेका थिए। आयोगले ती सबै दस्तावेज अध्ययन गरी विशेष महाधिवेशन र त्यसबाट बनेको कार्यसमिति नै वैधानिक भएको निष्कर्ष निकालेको हो।

यो निर्णयसँगै शेरबहादुर देउवा नेतृत्वमा रहेको पुरानो केन्द्रीय कार्यसमिति स्वतः अमान्य भएको छ। साथै, प्रत्यक्ष मनोनयनदेखि संगठनात्मक निर्णय र कार्यवाहीलगायत सबै गतिविधिमा अब गगन–विश्व समूहका निर्णयहरू नै आधिकारिक रूपमा लागू हुनेछन्। विशेष महाधिवेशनलाई मान्यता दिन नसकिने भन्दै देउवा पक्षले अघि सारेका दाबीहरू आयोगको निर्णयसँगै स्वतः अस्वीकृत भएका छन्।

यद्यपि, निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्ट पक्षका लागि सर्वोच्च अदालत जाने कानुनी बाटो खुला नै रहेको आयोगले स्पष्ट पारेको छ। कांग्रेसको आन्तरिक राजनीतिको यो निर्णायक मोडले पार्टीको आगामी दिशा र राष्ट्रिय राजनीतिमा गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।