मुख्य समाचार राजनीति

कांग्रेस विशेष महाधिवेशन निर्णायक चरणमा : आज राति मतदान, १३ पदाधिकारी र ३५ खुला केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा

नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन नयाँ नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको छ। निर्वाचन कार्यक्रम सार्वजनिक भएसँगै पार्टीको १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि आजै मतदान हुने भएको छ। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्र अन्तर्गत आज साँझ ९ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ।

१३ सदस्यीय पदाधिकारीमा निर्वाचन
निर्वाचन समितिका अनुसार यस विशेष महाधिवेशनबाट १३ सदस्यीय पदाधिकारी चयन हुनेछ। यसमा १ जना सभापति, २ जना उपसभापति, २ जना महामन्त्री र ८ जना सहमहामन्त्री पदका लागि उम्मेदवारी दिन सकिनेछ।

सहमहामन्त्री पद समावेशी आधारमा तोकिएको छ। महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु र पिछडिएको क्षेत्रबाट जनाइएको गरी ८ फरक–फरक कोटाबाट सहमहामन्त्री चयन गरिनेछ। यसले कांग्रेसको संगठनात्मक संरचनामा समावेशितालाई संस्थागत गर्ने प्रयासका रूपमा हेरिएको छ।

३५ खुला केन्द्रीय सदस्य
पदाधिकारीबाहेक केन्द्रीय कार्यसमितिका खुला सदस्यतर्फ ३५ जनाको निर्वाचन हुनेछ। निर्वाचन समितिले यी पदहरूका लागि खुला प्रतिस्पर्धाबाट उम्मेदवारी दिन सकिने स्पष्ट पारेको छ। समग्रमा १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्य निर्वाचित हुँदै १३४ सदस्यीय केन्द्रीय कार्यसमिति गठन हुनेछ।

मनोनयन शुल्क र मतदाता
यसअघि सार्वजनिक गरिएको विवरणअनुसार सभापति पदका उम्मेदवारले ३० हजार रुपैयाँ मनोनयन शुल्क बुझाउनुपर्नेछ। उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ।

मतदाताको संख्या ४ हजार ७४३ रहेको छ। पार्टी परित्याग गरेका र दिवंगत भएका प्रतिनिधिहरू हटाइएपछि यही सूचीका आधारमा मतदान हुने निर्वाचन समितिले जनाएको छ।

आजै अन्तिम नामावली
निर्वाचन कार्यतालिकाअनुसार दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ भने साँझ पौने ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक हुनेछ। त्यसपछि राति ९ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ।

पाँच सदस्यीय केन्द्रीय निर्वाचन समितिको बैठकले सम्पूर्ण निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। पार्टीभित्र सहमतिको प्रयास जारी रहे पनि अन्ततः नेतृत्व चयन मतदानमार्फत हुने लगभग निश्चित देखिएको छ।

विश्लेषकहरूका अनुसार यो विशेष महाधिवेशन केवल पदाधिकारी चयनको प्रक्रिया मात्र होइन, कांग्रेसको आगामी राजनीतिक दिशा, आन्तरिक शक्ति सन्तुलन र नेतृत्वको वैधताको निर्णायक परीक्षा पनि हो।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।