मुख्य समाचार राजनीति

ब्रेकिङ: गगन थापा र विश्वप्रकाश शर्मामाथि ५ वर्षे निष्कासन, अन्य नेतालाई भूमिकामा फर्किन आह्वान

नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले निर्णायक मोड लिँदै गर्दा पार्टी नेतृत्वले कडा अनुशासनात्मक कदम चालेको छ। पार्टी केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्ला मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ। यससँगै, विशेष महाधिवेशनको पक्षमा उभिएका तर पदाधिकारी नभएका अन्य सबै नेताहरूलाई आ–आफ्नो पूर्व जिम्मेवारीमा फर्किन आह्वान गरिएको छ।

विश्वप्रकाश शर्मा र गगन थापा

केन्द्रीय समिति सदस्य शिव प्रसाद हुमागाईका अनुसार बैठकले तीन पदाधिकारीमाथि कारबाहीको घोषणा गर्दै पार्टीभित्रको विभाजन रोक्न बाँकी नेताहरूलाई संगठनात्मक जिम्मेवारीमा फर्कन आग्रह गरेको हो। “पार्टीको निर्णयविपरीत गतिविधि गर्नेहरूलाई अनुशासनको दायरामा ल्याइएको छ, तर संवादको ढोका बन्द गरिएको छैन,” हुमागाईले बताए।

विशेष महाधिवेशन विवाद र कारबाहीको पृष्ठभूमि

महामन्त्रीद्वय थापा र शर्माले पार्टीको नियमित महाधिवेशन निर्धारित समयमा हुन नसकेको भन्दै विशेष महाधिवेशनको माग गर्दै आएका थिए। उनीहरूको दाबी अनुसार पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए। तर सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले उक्त मागलाई अस्वीकार गर्दै नियमित महाधिवेशन पुसमा सम्भव नभए वैशाखमा गर्ने निर्णय गरिसकेको थियो।

यही निर्णयविरुद्ध उभिँदै थापा र शर्माले विशेष महाधिवेशन आह्वानको प्रक्रिया अघि बढाएका थिए। उनीहरूले बन्द सत्रको हलले गरेको निर्णयलाई अन्तिम ठहर गर्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया सुरु गरेका थिए। सोही क्रममा सभापति पदका लागि गगन थापाको नाम दर्ता गरिएको थियो।

संवाद असफल, कारबाही अपरिहार्य

पार्टी विभाजन रोक्न पछिल्ला दिनहरूमा पटक–पटक छलफल भए पनि सहमति जुट्न सकेन। मंगलबार मात्र तीन चरणमा भएको वार्ता र बुधबार बिहान सभापति देउवासँग भएको छलफल पनि निष्कर्षविहीन रह्यो। त्यसपछि संस्थापन पक्षले कारबाहीको बाटो रोजेको हो।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।