धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा गठन भएको श्रम संस्कृति पार्टीले आफ्नो प्रारम्भिक घोषणापत्र सार्वजनिक गरेको छ। हालै निर्वाचन आयोगमा दर्ता भएको पार्टीले श्रम र उत्पादनलाई राजनीतिक दर्शनको केन्द्रमा राख्दै शासन प्रणाली, शिक्षा, अर्थतन्त्र र राष्ट्रियतासम्बन्धी व्यापक परिवर्तनका प्रस्ताव अघि सारेको छ।
पार्टीको मूल दर्शन: ‘हर्कवाद’
घोषणापत्र अनुसार पार्टीको केन्द्रीय राजनीतिक दर्शन ‘हर्कवाद’ हो। यसले प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकासमार्फत मात्र दिगो समृद्धि सम्भव हुने मान्यता अघि सार्छ। अनिवार्य श्रम र श्रमदानलाई निरन्तर अभ्यासमा ल्याए अभाव, गरिबी, विभेद र त्यसबाट उत्पन्न द्वन्द्व अन्त्य गर्न सकिने दाबी पार्टीले गरेको छ। धरानमा सुरु गरिएको श्रमदान अभियानलाई राष्ट्रिय नीतिका रूपमा विस्तार गर्ने योजना घोषणापत्रमा समावेश छ।
शासकीय स्वरूपमा आमूल परिवर्तनको प्रस्ताव
पार्टीले वर्तमान संसदीय प्रणालीको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था प्रस्ताव गरेको छ। राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग र जाति समुदायका हुनुपर्ने व्यवस्था राखिएको छ। कार्यकाल पाँच वर्षको हुने र एक व्यक्ति दुई कार्यकालभन्दा बढी निर्वाचित हुन नपाउने प्रस्ताव गरिएको छ।
सांसदहरूको भूमिका कानुन निर्माणमा सीमित रहने र सांसद मन्त्री बन्न नपाउने व्यवस्था घोषणापत्रमा उल्लेख छ। मन्त्री बन्न सम्बन्धित क्षेत्रका विज्ञ हुनुपर्ने र कुनै सांसद मन्त्री बनेमा उसको सांसद पद स्वतः निलम्बन हुने प्रस्ताव गरिएको छ। प्रतिनिधिसभा पूर्ण समानुपातिक प्रणालीबाट गठन गर्ने र जनसंख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने भनिएको छ।
शिक्षा र युवा नीति
शिक्षा क्षेत्रमा पार्टीले प्रयोगात्मक र उत्पादनमुखी मोडल अघि सारेको छ। विद्यालयमा हप्ताको तीन दिन सैद्धान्तिक अध्ययन र बाँकी चार दिन उत्पादन तथा सिर्जनात्मक गतिविधिमा विद्यार्थीलाई संलग्न गराउने प्रस्ताव छ। कक्षा १२ सम्म खाना पकाउने र लुगा सिउने जस्ता जीवनोपयोगी सीप अनिवार्य सिकाइने उल्लेख गरिएको छ।
कक्षा १२ उत्तीर्णपछि अनिवार्य सैनिक तालिम पूरा गरेपछि मात्र उच्च शिक्षा लिन पाउने व्यवस्था प्रस्ताव गरिएको छ। शिक्षकहरूलाई राजनीतिक दलको सदस्यता लिन वा सक्रिय राजनीतिमा संलग्न हुन प्रतिबन्ध लगाउने नीति पनि घोषणापत्रमा छ। नयाँ पुस्ताका माग र गुनासो सम्बोधन गर्न 'जेन–जी आयोग' गठन गर्ने घोषणा गरिएको छ।
अर्थतन्त्र, श्रम र सुशासन
आर्थिक नीतिअन्तर्गत 'वैज्ञानिक कर प्रणाली' लागू गरी धनीबाट बढी कर संकलन र गरिबलाई सहुलियत दिने योजना अघि सारिएको छ। ‘एक गाउँ एक उद्योग’ र ‘एक घर एक स्वरोजगार’ कार्यक्रममार्फत स्वदेशी उत्पादन र रोजगारी प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। विदेशी लगानी बिनासर्त स्वीकार गर्ने र सरकारी चालु खर्चमा कटौती गर्दै मितव्ययी अर्थतन्त्र निर्माण गर्ने उल्लेख छ।
सुशासनका लागि सरकारी कर्मचारीले गम्भीर गल्ती गरेमा सरुवाभन्दा कडा कारबाहीका रूपमा जागिरबाट बर्खास्त गर्ने नीति प्रस्ताव गरिएको छ। पत्रकारिता, कर्मचारीतन्त्र र न्यायालयलाई पूर्ण रूपमा गैरराजनीतिक बनाउने तथा सरकारी बैठकहरू प्रत्यक्ष प्रसारणमार्फत पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
राष्ट्रियता, धर्म र नागरिकता
घोषणापत्रमा देशमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू खारेज गर्ने, सीमा सुरक्षाका लागि नेपाली सेना परिचालन गर्ने र सीमा अतिक्रमण रोक्ने नीति उल्लेख छ। नागरिकतासम्बन्धी प्रस्तावअनुसार नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशीले कम्तीमा पाँच वर्ष नेपालमा बसोबास गरेको र विदेशी नागरिकता त्यागेको प्रमाण पेस गरेपछि मात्र नेपाली नागरिकता पाउने व्यवस्था गरिएको छ।
राज्य धर्मनिरपेक्ष रहने तर जबरजस्ती धर्म परिवर्तनलाई दण्डनीय बनाउने, सबै मौलिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिई शिक्षा र प्रशासनमा प्रयोग गर्ने नीति पनि घोषणापत्रमा समावेश छ।
श्रम संस्कृति पार्टी असोज ७ गते निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिइएको हो। पार्टीको चुनाव चिन्ह 'माटो' प्रस्ताव गरिएको छ। स्वतन्त्र उम्मेदवारका रूपमा धरानको मेयरमा निर्वाचित भई राष्ट्रिय चर्चामा आएका साम्पाङले यो घोषणापत्रमार्फत आफू राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्ति निर्माण गर्ने लक्ष्यमा रहेको स्पष्ट संकेत गरेका छन्।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्