मुख्य समाचार राजनीति

प्रचण्डको दाबी: ‘नयाँ’ भनिने दलसँग ठोस एजेन्डा छैन, गणतन्त्रको वाहक भएकाले नेकपा नै सबैभन्दा नयाँ शक्ति

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई नयाँ शक्ति भनेर प्रस्तुत गर्ने दलहरूसँग देशलाई रूपान्तरण गर्ने ठोस विचार, सिद्धान्त र दीर्घकालीन एजेन्डा नरहेको दाबी गरेका छन्। उनले गणतन्त्र र संघीयताको नेतृत्व गरेको आधारमा नेकपा नै मुलुकको सबैभन्दा नयाँ र अग्रगामी शक्ति भएको तर्क गरे।

शुक्रबार काठमाडौंमा आयोजित पार्टीको विभिन्न निर्वाचन तथा परामर्श कार्यक्रमहरूलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ र पुरानोको मापन दलको उमेर वा प्रचारशैलीले नभई विचार, एजेन्डा र संघर्षको इतिहासले गर्ने बताए। पछिल्लो समय सामाजिक सञ्जालमार्फत ‘नयाँ’ को चर्चा बढाइरहेका दलहरू जनतालाई भ्रमित गर्ने प्रयासमा रहेको उनको भनाइ थियो।

उनले देशमा आजको सन्दर्भमा सबैभन्दा नयाँ राजनीतिक उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र भएको उल्लेख गर्दै त्यसको स्थापना र नेतृत्वमा नेकपाको निर्णायक भूमिका रहेको दाबी गरे। “गणतन्त्रभन्दा नयाँ विचार कसैले ल्याएको छैन,” उनले भने, “त्यसैले गणतन्त्रको वाहक शक्ति नै वास्तविक अर्थमा नयाँ हो।”

रास्वपालक्षित आलोचना

प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत पछिल्ला वर्षहरूमा उदाएका दलहरूप्रति संकेत गर्दै उनीहरू उदार पुँजीवाद र दलाल पुँजीवादकै प्रवर्द्धक भएको आरोप लगाए। नयाँको नाममा प्रचार गरिए पनि तिनले पुरानै आर्थिक र राजनीतिक सोचलाई निरन्तरता दिइरहेको उनको टिप्पणी थियो।

उनका अनुसार महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारू लगायत उत्पीडित समुदायलाई पहिचान र अधिकार दिने एजेन्डा नेकपाले नै अघि सारेको हो, जसले पार्टीलाई प्रगतिशील र नयाँ बनाएको छ।

चुनावी तयारी र दाबी

आगामी निर्वाचनतर्फ संकेत गर्दै प्रचण्डले पार्टीले हालसम्म करिब २५ वटा राजनीतिक घटकलाई एकताबद्ध गराइसकेको दाबी गरे। चुनाव नजिकिँदै जाँदा संगठित रूपमा प्रचार–प्रसार गर्न सके नेकपा पुनः देशको पहिलो शक्ति बन्ने प्रबल सम्भावना रहेको उनको भनाइ थियो।

सामाजिक सञ्जालमा 'कडा भिडन्त' हुने भनिएका केही निर्वाचन क्षेत्रमा समेत पार्टीको जित सुनिश्चित हुने दाबी गर्दै उनले कार्यकर्तालाई गर्वका साथ जनतामाझ जान निर्देशन दिए।

प्रचण्डका अनुसार राष्ट्र र जनताको बृहत्तर हित, राष्ट्रिय एकता र परिवर्तनको नेतृत्व गर्ने शक्ति नै वास्तविक नयाँ हो, र त्यो जिम्मेवारी निर्वाह गर्न नेकपा सक्षम रहेको उनको निष्कर्ष छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकएक्स् मा पनि जोडिन सक्नुहुन्छ ।