राजनीति

प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि 'ग्लोबल आईटी हब'सम्म: आजपाको चुनावी घोषणापत्र सार्वजनिक

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले शुक्रबार काठमाडौंमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा अध्यक्ष प्रभु साहसहित पार्टीका नेताहरूले घोषणापत्र सार्वजनिक गर्दै मुलुकको वर्तमान राजनीतिक व्यवस्था असफल भएको निष्कर्षसहित व्यापक संरचनात्मक सुधारको प्रस्ताव अघि सारे।

पार्टीले 'देशको अवस्था बदल्न व्यवस्था बदलौं' भन्ने मूल नारासहित शासन प्रणालीदेखि अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा र पूर्वाधारसम्म सुधारका एजेन्डा प्रस्तुत गरेको छ।

प्रत्यक्ष निर्वाचित कार्यकारी र 'राइट टु रिकल'

घोषणापत्रमा प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष जननिर्वाचित हुने व्यवस्था लागू गर्ने प्रस्ताव गरिएको छ। संघ र प्रदेशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउने नीति पनि समावेश छ।

निर्वाचित जनप्रतिनिधिले अपेक्षित काम नगरेमा कार्यकालभित्रै जनताले फिर्ता बोलाउन पाउने ‘राइट टु रिकल’को व्यवस्था गर्ने प्रतिबद्धता पार्टीले जनाएको छ। साथै मतपत्रमा कुनै उम्मेदवार उपयुक्त नलागे ‘नो भोट’को कानुनी व्यवस्था गरिने उल्लेख छ।

७० वर्ष नाघेका व्यक्तिलाई प्रधानमन्त्री वा मन्त्रीजस्ता कार्यकारी पदमा नियुक्ति गर्न रोक लगाउने प्रस्ताव पनि घोषणापत्रमा समेटिएको छ।

संवैधानिक निकायहरूको पुनर्संरचना, नियुक्ति तथा कार्यसम्पादन मूल्याङ्कन प्रणालीमा सुधार र राष्ट्रिय महत्वका विषयमा डिजिटल माध्यमबाट प्रत्यक्ष जनमतसंग्रहको व्यवस्था विकास गर्ने योजना पनि अघि सारिएको छ।

कर सीमा र भ्रष्टाचार नियन्त्रण

पार्टीले कुल गार्हस्थ उत्पादन (जीडीपी) को २० प्रतिशतभन्दा बढी कर लगाउन नपाउने संवैधानिक व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको छ। गैरआवासीय र विदेशीलाई नागरिकता दिने प्रावधान पुनरावलोकन गर्ने एजेन्डा पनि समावेश गरिएको छ।

भ्रष्टाचार नियन्त्रणका लागि जनताको प्रत्यक्ष निगरानी रहने विशेष कानुनी संरचना निर्माण गर्ने, नीतिगत भ्रष्टाचारमा संलग्नको सम्पत्ति जफत गर्ने र कडा कारबाही गर्ने प्रतिबद्धता जनाइएको छ।

सरकारी खर्च र विकास आयोजनाको विवरण अनलाइन सार्वजनिक गर्ने, न्यायालयको पूर्ण डिजिटलीकरण र पारदर्शी नियुक्ति प्रणालीमार्फत न्यायिक सुधार गर्ने योजना पनि घोषणापत्रमा उल्लेख छ। भ्रष्टाचारविरुद्ध ‘आईटी आर्मी’ परिचालन गर्ने प्रस्ताव समेत अघि सारिएको छ।

'एक घर, एक रोजगारी' र बेरोजगारी भत्ता

रोजगारी सृजनालाई प्राथमिकतामा राख्दै पार्टीले 'एक घर, एक रोजगारी' कार्यक्रम लागू गर्ने र रोजगारी नपाएसम्म बेरोजगारी भत्ता उपलब्ध गराउने घोषणा गरेको छ।

नेपाललाई 'ग्लोबल आईटी हब'का रूपमा विकास गर्ने लक्ष्यसहित युवा उद्यमीलाई १० लाखदेखि २५ लाख रुपैयाँसम्म बिनाधितो बीउ पुँजी (सीड मनी) उपलब्ध गराउने योजना सार्वजनिक गरिएको छ। हरेक विद्यार्थीलाई कम्तीमा एक उच्च प्राविधिक सीप अनिवार्य रूपमा सिकाइने व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

शिक्षा, स्वास्थ्य र आधारभूत सेवा

घोषणापत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत् आधारभूत रूपमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता उल्लेख छ।

पूर्ण साक्षर राष्ट्र निर्माण, स्मार्ट कक्षाकोठा, ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रम कार्यान्वयन गर्ने योजना अघि सारिएको छ।

स्वास्थ्य क्षेत्रमा डिजिटल हेल्थ कार्ड, गम्भीर रोगको पूर्ण निःशुल्क उपचार र प्रत्येक पालिकामा विशेषज्ञ अस्पताल स्थापना गर्ने प्रस्ताव गरिएको छ।

कृषि, पूर्वाधार र ऊर्जा

कृषि सुधारका लागि बाँझो तथा टुक्रा जमिन एकीकृत गरी 'भूमि बैंक' अवधारणा लागू गर्ने, हरेक वडामा शीतभण्डार स्थापना गर्ने र स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने नीति सार्वजनिक गरिएको छ।

मुख्य राजमार्गको स्तरोन्नति, सडक सुरक्षामा उच्च प्रविधियुक्त निगरानी प्रणाली र ठूला सहरमा व्यवस्थित सार्वजनिक पार्किङ व्यवस्थापन गर्ने योजना समावेश छ। राजमार्गमा अप्टिकल फाइबर विस्तारसहित डिजिटल करिडोर विकास गर्ने उल्लेख गरिएको छ।

ऊर्जा क्षेत्रमा विद्युत् उत्पादन तथा निर्यात वृद्धि गर्ने र 'हिमालयन ओरिजिन' ब्रान्डमार्फत बोतलको पानी अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने योजना पनि घोषणापत्रमा राखिएको छ।

भूमिहीनका लागि 'भर्टिकल हाउजिङ' निर्माण र योजनाबद्ध नयाँ सहर विकास गर्ने प्रतिबद्धता समेत पार्टीले जनाएको छ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष प्रभु साहले परम्परागत राजनीतिक प्रवृत्तिले जनताको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन नसकेको दाबी गर्दै मतदातालाई गम्भीर भएर मतदान गर्न आग्रह गरे।

आजपाले प्रस्तुत गरेको घोषणापत्रमा राजनीतिक संरचना परिवर्तनदेखि रोजगारी, प्रविधि, सामाजिक सेवा र पूर्वाधार विकाससम्मका व्यापक प्रस्ताव समेटिएका छन्। आगामी निर्वाचनमा मतदाताले यी एजेन्डालाई कसरी ग्रहण गर्छन् भन्नेमा पार्टीको राजनीतिक भविष्य निर्भर रहनेछ।

पूर्णपाठ

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकएक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।