समाज

प्रतिनिधिसभा निर्वाचन २०८२: प्रचारमा भौतिक निर्वाचन चिह्न प्रयोग नगर्न निर्वाचन आयोगको कडाइ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ लाई लक्षित गर्दै निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोग नगर्न सबै राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ।

आयोगले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा धातु, काठ वा अन्य सामग्रीबाट बनेका चिह्न साथमा बोकेर प्रचार गर्दा जनसुरक्षा र सार्वजनिक शान्तिमा प्रतिकूल असर परेको भन्ने गुनासाहरू प्राप्त भएको उल्लेख गरिएको छ। यस्तो गतिविधिले सुरक्षा जोखिम बढाउन सक्ने भन्दै आयोगले कडाइ गरेको हो।

सुरक्षा जोखिम र गुनासोपछि निर्णय

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार केही दल वा उम्मेदवारले आफ्ना चुनाव चिह्नको भौतिक वस्तु-जस्तै धातु वा काठबाट बनेका सामग्री-प्रयोग गरी घरदैलो तथा सभामा प्रदर्शन गर्दा असहजता उत्पन्न भएको जानकारी आयोगमा पुगेको थियो।

यसै आधारमा आयोगले आम जनमानसको सुरक्षामा असर पर्ने गरी कुनै पनि प्रकारका भौतिक निर्वाचन चिह्न प्रयोग नगर्न स्पष्ट निर्देशन दिएको छ।

मापदण्डभित्रै प्रचार गर्न निर्देशन

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ (ड) बमोजिम दलको झण्डा र निर्वाचन चिह्नको प्रयोग गर्दा तोकिएको मापदण्ड पालना गर्नुपर्ने स्मरण गराएको छ।

निर्वाचन चिह्न कपडा, कागज, फ्लेक्स वा प्रिन्ट सामग्रीमा छापेर प्रयोग गर्न भने अनुमति रहेको आयोगले स्पष्ट पारेको छ। तर, आयोगले निर्धारण गरेको स्वरूप बाहेक अन्य भौतिक सामग्रीबाट बनेका चिह्न प्रयोग गर्नु आचारसंहिता विपरीत हुने जनाएको छ।

उल्लंघन गरेको पाइएमा प्रचलित कानुन र आचारसंहिताअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।

रास्वपाको घण्टी प्रचारमा असर

निर्देशनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनाव चिह्न घण्टीको वास्तविक स्वरूप बजाउँदै प्रचार गर्ने अभ्यास रोक्नुपर्ने भएको छ। यसअघि उक्त दलका उम्मेदवार र कार्यकर्ताले घरदैलो तथा सार्वजनिक कार्यक्रमहरूमा घण्टी बजाएर मत माग्दै आएका थिए।

आयोगले भने यो निर्णय कुनै एक दललाई लक्षित नभई सबै राजनीतिक दल र उम्मेदवारका लागि समान रूपमा लागू हुने स्पष्ट गरेको छ। आयोगले सबै सरोकारवालालाई शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।

निर्वाचन नजिकिँदै जाँदा प्रचारप्रसारका गतिविधि तीव्र भइरहेका बेला आयोगले सुरक्षा, मर्यादा र कानुनी मापदण्डलाई प्राथमिकतामा राखेर प्रचार गर्न दल तथा उम्मेदवारलाई पुनः सचेत गराएको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकएक्स् मा पनि जोडिन सक्नुहुन्छ ।