समाज

सर्लाहीका कोरोना संक्रमित मानसिक रोगी

सर्लाहीका हरिपूर्वा नगरपालिका–३ धनकौलमा एकजना मानसिक रोगीमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ ।

योसँगै सर्लाहीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई पुगेको छ । धनकौलका ४५ वर्षीय एकजना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

सङ्क्रमित व्यक्तिको २६ गते जनकपुरमा पीसीआर टेष्ट गरिएको थियो । त्यहाँ निगेटिभ आएपछि उनलाई घरमै राखिएको थियो ।

मंगलबार राति १०ः१५ बजेको समयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गरेपछि सर्लाहीमा थप एक व्यक्ति कोरोना सङ्क्रमित भएको कुरा जानकारीमा आएको थियो ।

काठमाडौंबाट पीसीआर टेष्ट पोजेटिभ आएपछि मंगलवार राति नै उनलाई खोज्न सर्लाहीका सुरक्षा निकायका प्रमुख धनकौल पुगेका थिए ।

सङ्क्रमित व्यक्ति मानसिक रोगी भएकाले उनलाई राति घरबाट निकाल्न करिब तीन घण्टा लागेको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । क्याचिङ रडले घरबाट तानेर गाडीमा हालेर बिहान २ बजे प्रादेशिक अस्पताल जनकपुर पठाइएको उनले बताए । उनका परिवारका सदस्यलाई राति नै हरिपुर्वास्थित रहेको क्वारेन्टाइनमा पुर्‍याइएको हरिपुर्वा–३ धनकौलका वडाध्यक्ष धनराज महतोले जानकारी दिए । संक्रमित भेटिएको ठाउँलाई अहिले सिल गरिएको उनले बताए ।

यसअघि सर्लाहीको धनकौल गाउँपालिका–५, हरकठवा गोठका १४ वर्षीय बालकमा कोरोना पोजेटिभ देखिएको थियो । अहिले उनको उपचार वीरगञ्जमा भइरहेको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।