समाज

कोरोनाले मृत्यु भएका महिलाको शिशु तथा आफन्तको रिपोर्ट नेगेटिभ

कोरोना भाइरस सङ्क्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको शिशुसहित आफन्तको रिपोर्ट नेगेटिभ देखिएको छ। सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको कोरोना भाइरसका कारण मृत्यु भएको थियो।

मृतक महिलाको १३ दिनको शिशु, श्रीमान् तथा आफ्नो आमा र बहिनीको पिसिआर परीक्षणमा कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका सदस्य डा.नरेन्द्र झाले बताए। उनका अनुसार १० दिनकी सुत्केरीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएपछि उनका आफन्तको परीक्षणका लागि शनिबार स्वाब सङ्कलन गरी आइसोलेशनमा राखिएको थियो।

मृतकका आफन्तको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी पुनः १४ दिनको क्वारेन्टाइनमा राख्नेगरी पठाउन लागिएको झाले जानकारी दिए। गत बिहीबार राति ९ः३० बजे उपचारार्थ धुलिखेल अस्पतालमा पुर्याइएकी ती महिलाको केही समयपछि नै मृत्यु भएको थियो। मृतक परिवारका सदस्यले नै ती महिलाको स्वासप्रस्वासमा देखिएको लक्षणअनुसार कोरोना भाइरस सङ्क्रमणको शङ्का गरेर धुलिखेल अस्पताल पुर्याएका थिए।

मृतकका परिवारले चिकित्सकलाई वैशाख २४ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा सुत्केरी भएकी र २५ गते अस्पतालबाट डिस्चार्ज भई सिन्धुपाल्चोकस्थित घर गएको केही दिनपछि ती महिलाको स्वासप्रस्वासमा समस्या देखिन थालेको बताएका थिए । धुलिखेल अस्पतालका प्रवक्ता एवं प्रसूतिरोग विशेषज्ञ डा. सुमनराज ताम्राकारले ती महिलाको बाह्रबिसेस्थित अस्पतालमा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरी धुलिखेल ल्याइएको थियो। उनका अनुसार धुलिखेल अस्पतालमा पिसिआर परीक्षणमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाइएको थियो।

ती महिलाको उपचारमा संलग्न चिकित्सक, नर्स तथा पारामेडिकललगायत गार्डसमेतको स्वाब सङ्कलन गरी उनीहरूलाई पनि अस्पतालको क्वारेन्टाइनमा राखिएको ताम्राकारले जानकारी दिए । उनका अनुसार मृतक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि आइतबारदेखि नै अस्पतालमा उच्च सतर्कता अपनाइएको छ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।