अर्थ समाज

बल्थली इको–हिल रिसोर्ट खुल्यो

balthali-eco-resortकाभ्रेको बल्थलीमा ‘सुविधासम्पन्न' बल्थली इको–हिल रिसोर्ट खुलेको छ। नेपालमै साहसिक र गाउँ पर्यटन प्रवर्द्धन गरिरहेको समूहले रिसोर्ट खोलेको हो।

बल्थली–५, नेपानेस्थित रिसोर्ट शनिबार औपचारिक सञ्चालनमा आएको हो। काभ्रेको दक्षिण–पूर्वीभेगमा अवस्थित बल्थली आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्दै आएको छ। यसैले यहाँ रिसोर्टमा लगानी गर्ने व्यवसायी थपिएका हुन्।

हालसम्म ३ करोड रुपैयाँ लगानी भइसकेको नवनिर्मित रिसोर्टको नेपालका लागि रसियाली राजदूत सर्जेइ भिसिलेइभिच भेलिच्किनले उद्घाटन गरे। उनीसँगै गाउँ पर्यटन प्रवर्द्धनका निम्ति नेपालका लागि युरोपियन युनियनकी राजदूत रेन्सजे टिरिङ र श्रीलंकाका राजदूत डब्लु एम सिनेभिरथ्ना सहभागी थिए।

‘नेपालको ग्रामीण पर्यटन प्रवर्द्धनका लागि विदेशी राजदूतहरुले निरन्तर सहयोग गरिरहनु भएको छ। फलस्वरुप महामहिम राजदूतहरुको अग्रसरतामा गाउँगाउँमा विदेशी पर्यटक भिœयाउन मद्दत पुगेको छ,' गाउँ पर्यटन प्रवर्द्धन मञ्च, नेपाल(भिटोफ) का अध्यक्ष चित्रबहादुर गुरुङले स्वागतमा भने।

बल्थलीको दोस्रो यो रिसोर्टमा एडभेन्चर माइलस्टोन ट्रेकिङ प्रालिका अध्यक्ष रामसुन्दर थापासहित भिटोफका महासचिव राजकुमार थापा, सदस्य यदु लामिछाने र अल्पाइन रेस्क्यू सर्भिसका प्रबन्ध निर्देशक प्रकाशचन्द्र लोहनीको लगानी छ।

‘अहिले २४ जनालाई पुग्ने गरी आरामदायी कोठा तयार गरेका छौंं। पछि ५० जनासम्मको पुर्या२उँदैछौं,' लामिछानेले भने। रिसोर्ट हातामै हेलिप्याडसमेत निर्माण गरेको सो समूह बल्थलीमा रक क्लाइम्बिङ र जिप फ्लायरजस्ता एड्भेन्चरमा आधारित पर्यटन सेवा दिने योजनामा छ।

काठमाडौंबाट ३९ किलोमिटर परको बल्थलीबाट लाङटाङ, गणेश, जुगल, फुर्बीघ्याचु, दोर्जेलाक्पा, गौरीशंकर, नुम्बुरलगायत हिमशृंखला देखिन्छ। गाउँको रहनसहन, संस्कृति र भौगोलिक अवस्था बुझ्न पाउने भएकाले बल्थलीमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ।

‘बल्थलीको प्रचार धेरै भइसक्यो। बल्थलीमा नयाँ के छ भन्नेको जमात पनि बढ्दो छ। यसैलाई ध्यानमा राखेर बल्थली पर्यटन गुरुयोजना बनाएर पर्यटन उद्योगका नयाँनयाँ सेवा सुरु गर्ने तयारी भइरहेको छ,' रामसुन्दरले भने।

बल्थलीकै रामप्रसाद हुमागाईंले सो स्थानमा पहिलो रिसोर्टका रुपमा २०५६ सालदेखि बल्थली भिलेज रिसोर्ट सञ्चालन गर्दै आएका छन्। ‘सूर्योदयको मनमोहक दृश्यावलोकनका साथै दर्जनौं हिमशृंखला एकैपटक अवलोकन गर्न सकिने स्वच्छ, शान्त रमणीयस्थल बल्थलीले स्वदेशी तथा विदेशी पर्यटकलाई सहजै आकर्षित गर्दै आएको छ। थप भएको रिसोर्टले अझ पर्यटक ल्याउन टेवा पुर्यातउँछ,' हुमागाईंले भने।

बल्थली–४ मै तेस्रो रिसोर्टका रुपमा जर्मन गाइड मणि हुमागाईंको समूहले पनि बल्थली माउन्टेन रिसोर्ट निर्माण गरिरहेको छ। पछिल्लो समयमा काठमाडौ साँखुबाट लप्सेफेदी, नगरकोट, धुलिखेल, नमोबुद्ध हुँदै बल्थलीसम्म ‘भिलेज टे्रकिङ' रुट कायम गरिएको हुँदा यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढ्दो छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।