अर्थ कृषि समाज

काभ्रेपलाञ्चोकमा ६७५ लघु उद्यमी तयार

काभ्रेपलाञ्चोकमा गरिबी न्यूनीकरणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडेपा) सञ्चालन गरेर ६७५ लघु उद्यमी तयार गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय काभ्रेपलाञ्चोकले लघु उद्यमी तयार गरेको हो । कृषिजन्य, पर्यटनसँग सम्बन्धित, उत्पादनमूलक, सेवामूलक साना तथा घरेलु उद्योग सञ्चालन गरेर लघु उद्यमी सिर्जना गरेर उनीहरुको आयआर्जनमा वृद्धि गरिएको काभ्रेपलाञ्चोकका उद्योग अधिकृत ऋषिराम केसीले जानकारी दिनुभयो । “यसको उद्देश्य आर्थीक अवस्था कमजोर भएका आदिवासी, जनजाति समुदायलाई उद्यमी बनाउन स्थानीय स्रोत र साधनमा आधारित उद्योगको स्थापना गर्नु हो”, उहाँले भन्नुभयो ।

उद्योग अधिकृत केसीले त्यस्ता उद्योगीले तरकारीखेती, मौरीपालन, मत्स्यपालनलगायतका उत्पादनमूलक र सेवामूलक उद्योग सञ्चालन गरिरहेको बताउनुभयो ।

आर्थिक वर्ष २०६६÷०६७ बाट सो परियोजना सञ्चालन भएको हो । अहिलेसम्म २२ वटा गाविसमा लघु उद्यमी उत्पादन कार्यक्रम सञ्चालन भएको छ । कार्यालयले आ व ०६६÷०६७ मा जिल्लाको बल्थली, बालुवापाटी, देउपुर, बाङथली, महेन्द्रज्योति गाविसमा, आ व ०६७÷०६८ मा नासिकास्थान, बेखसिम्ले, मादनकुडारी, बुढाखानी गाविसमा, आ व ०६८÷०६९ मा अनेकोट, बेखसिम्ले, देवीटार, महादेवटार, भिमखोरी, कुशादेवी, ¥याले गाविसमा, आव ०६९÷०७० मा शङ्खुपाटीचौर, उग्रचण्डीनाला, महेन्द्रज्योति गाविसमा तथा आ व ०७०÷०७१ मा डाँडागाउँ, माझीफेता, जैसीथोक, च्याम्राङवेशी, वनखुचौर र नाग्रगर्गचे गाविसमा लघु उद्यमी सिर्जना गरेको जनाएको छ ।

उद्योग अधिकृत केसीका अनुसार अहिलेसम्म १० वटा बजार केन्द्र स्थापना भएका छन् । लघु उद्यमी उत्पादन कार्यक्रमका लागि रु ३७ लाख १६ हजार लगानी भएको उहाँले बताउनुभयो । काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्षमा उत्पादनमूलक, कृषि तथा वनजन्य, पर्यटन र सेवामूलकसहित ३९२ लघु तथा साना उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । रासस

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।