मुख्य समाचार राजनीति

नेपाली कांग्रेस विशेष महाधिवेशनः दुई कार्यकालको प्रधानमन्त्री सीमा, आन्तरिक लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक विधान पारित

काठमाडौँ — नेपाली कांग्रेसले आफ्नो संगठनात्मक इतिहासमै महत्वपूर्ण मोड मानिने निर्णय गर्दै दोस्रो विशेष महाधिवेशनबाट संशोधित विधान पारित गरेको छ। काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रले पार्टीको नेतृत्व चयन, सदस्यता प्रणाली, समावेशिता र राजकीय पदमा रहने कार्यकालसम्बन्धी स्पष्ट सीमासहितको नयाँ विधान अनुमोदन गरेको हो।

नयाँ विधानअनुसार अब कांग्रेसका नेताहरूले राजकीय पदमा अनिश्चितकालसम्म बसिरहन पाउने छैनन्। एक व्यक्तिले राष्ट्रपतिको पद एकपटकभन्दा बढी सम्हाल्न नपाउने, प्रधानमन्त्री बढीमा दुई कार्यकाल मात्र बन्न पाउने व्यवस्था गरिएको छ। यस्तै, मन्त्रीका लागि अधिकतम तीन कार्यकाल र प्रत्यक्ष निर्वाचित सांसदका लागि चार कार्यकालको सीमा तोकिएको छ। समानुपातिक प्रणालीमार्फत सांसद बन्ने अवसर भने जीवनभरमा एकपटक मात्र उपलब्ध हुनेछ।

‘बटम–अप’ नेतृत्वको अभ्यास
पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्न केन्द्रीय नेतृत्वदेखि तल्लो तहसम्म सबै नेताहरू वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने व्यवस्था विधानमा समेटिएको छ। केन्द्रीय सभापतिसमेत आफू सदस्य रहेको वडाबाट प्रतिनिधि निर्वाचित नभएसम्म माथिल्लो तहको नेतृत्वका लागि योग्य नहुने प्रावधानले ‘टप–डाउन’ राजनीतिक संस्कृतिको अन्त्य गर्दै ‘बटम–अप’ प्रणालीलाई बलियो बनाउने अपेक्षा गरिएको छ।

प्राइमारी निर्वाचन र सदस्यता सुधार
अब कांग्रेसले संसदीय तथा अन्य निर्वाचनका लागि उम्मेदवार चयन गर्दा सम्बन्धित क्षेत्रका क्रियाशील सदस्यहरूबीच प्राइमारी निर्वाचन गर्नेछ। सदस्यहरूको प्रत्यक्ष मतदानबाट बढी मत ल्याउने उम्मेदवार नै पार्टीको आधिकारिक उम्मेदवार बन्नेछन्। सदस्यता प्रणालीमा पनि सुधार गर्दै साधारण र क्रियाशीलको विभेद हटाई एउटै प्रकारको क्रियाशील सदस्यता लागू गरिएको छ, जसका लागि अनलाइन आवेदनको व्यवस्था गरिएको छ।

समावेशिता र युवा सहभागिता
नयाँ विधानले समावेशितालाई केन्द्रमा राखेको छ। हरेक तहका कार्यसमितिमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरिएको छ भने ४० वर्षमुनिका युवाहरूको २० प्रतिशत सहभागिता सुनिश्चित गरिएको छ। दलित, मधेसी, मुस्लिम, आदिवासी जनजाति, थारू र अपाङ्गता भएका व्यक्तिहरूका लागि जनसंख्याका आधारमा क्लस्टर प्रतिनिधित्व अनिवार्य बनाइएको छ।

ल्याटरल इन्ट्री’ र पारदर्शिता
पार्टीलाई विज्ञ र बौद्धिक समूहसँग जोड्न १० प्रतिशतसम्म ‘ल्याटरल इन्ट्री’ को व्यवस्था गरिएको छ, जसअन्तर्गत विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरूलाई सिधै उम्मेदवार बनाउने बाटो खुला गरिएको छ। साथै, सार्वजनिक पदका उम्मेदवारले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने र स्वघोषणा गर्नुपर्ने प्रावधानले पारदर्शिता र अनुशासनलाई बल पुर्‍याउने विश्वास लिइएको छ।

गगन–विश्वको प्रतिवेदन पारित
विशेष महाधिवेशनले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माद्वारा प्रस्तुत राजनीतिक र सांगठनिक प्रतिवेदन पनि बहुमतका साथ पारित गरेको छ। बन्दसत्रको समापनमा बोल्दै महामन्त्री थापाले विशेष महाधिवेशनलाई ‘आन्तरिक लोकतन्त्रका लागि गरिएको विद्रोह’को संज्ञा दिँदै प्रश्न उठाउनु नै पार्टीलाई जोगाउने मार्ग भएको बताए।

उनले नेतृत्व वा पदको आकांक्षाका लागि नभई नीति र प्रणाली परिवर्तनका लागि आफूहरू अघि बढेको स्पष्ट पारे। “मौनता मृत्युलाई अंगाल्नु जस्तै हो,” थापाको भनाइले हलमा तालीको गडगडाहट ल्याएको थियो।

राजनीतिक सन्देश
विशेष महाधिवेशनबाट पारित नयाँ विधान र प्रतिवेदनहरूले नेपाली कांग्रेसलाई दीर्घकालीन रूपमा संस्थागत, समावेशी र उत्तरदायी राजनीतिक दलको रूपमा पुनर्संरचना गर्ने संकेत दिएका छन्। आगामी दिनमा यी व्यवस्थाहरू व्यवहारमा कति प्रभावकारी रूपमा लागू हुन्छन् भन्ने प्रश्न भने नेपाली राजनीतिका लागि निर्णायक हुनेछ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।