मुख्य समाचार राजनीति

देउवासँग असन्तुष्ट जिल्ला सभापतिहरु - पार्टी सभापतिले गरेको विभाग गठन अमान्य

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको पूर्वसन्ध्यामा गठन भएका विभागहरूमा जिल्ला सभापतिहरुले विरोध जनाएका छन्। साउन २८ गते जिल्ला सभापतिहरुको बैठकले विभिन्न विभागहरू अवैधानिक एवम् स्वेच्छाचारी ढंगले विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद भएको निष्कर्ष निकालेको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलनिकटका जिल्ला सभापतिहरुको भर्चुअल बैठकमार्फत् यस्ताे निर्णय गरेकाे नुवाकोट कांग्रेसका सभापति जगदिश्वरनरसिंह केसीले बताए। विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान अनुसार पार्टीको सबैभन्दा माथिल्लो निकाय महाधिवेशनको हो। दोस्रो निकाय महासमिति हो। महाधिवेशन र महासमितिबाट पारित भएका हरेक विषयहरू नेपाली कांग्रेसको विधानतः निति बन्दछ।’

अनुशासन समितिले तीन जना नेतालाई गरेको कारबाहीप्रति पनि जिल्ला सभापतिहरुले आपत्ति जनाएका छन्। तनहुँका कांग्रेस नेता गोविन्दराज जोशी र कैलालीका पुष्करनाथ ओझालाई गरिएको कारबाही प्रतिशोधका आधारमा भएको उनीहरुको निष्कर्ष छ।

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूद्वारा जारी संयुक्त प्रेस विज्ञप्ति

काठमाडौं उपत्यकामा उपलब्ध र अन्य माध्यमबाट सम्पर्कमा रहनुभएका नेपाली काँग्रेसका जिल्ला सभापतिहरूको बैठक २०७७ साउन २८ गते सम्पन्न भयो। पार्टीको वर्तमान अवस्था र क्रियाकलाप, कोरोना भाइरसको संक्रमण, सरकारका क्रियाकलाप, सीमा विवाद, बाढी पहिरो र डुबानले आक्रान्त देशको अवस्था, संकटको बाटोमा हिडिरहेको अर्थतन्त्र, देश र जनताको अवस्था आदि विषयमा छलफल गरी तपसिलकाे निष्कर्षामा पुगियो ।

तपसिल
१) नेपाली काँग्रेसको विधान अनुसार पार्टीको सबैभन्दा माथिल्लो निकाय महाधिवेशन हो। दोस्रो निकाय महासमिति हो । महाधिवेशन र महासमितिबाट पारित भएका हरेक विषयहरू नेपाली काँग्रेसको विधानतः नीति बन्दछ । यसै क्रममा नेपाली काँग्रेसको ८ औं महासमितिले गरेका निर्णयहरू क्रमसः
क) पार्टीका सबै तह र तप्काका व्यक्तिहरू वडा तहदेखि नै निर्वाचित भई आउनु पर्ने,
ख) समावेशी, समानुपातिक कोटाबाट प्रतिनिधित्व गर्ने व्यक्तिले एकपटक मात्र उक्त जिम्मेवारीको अवसर पाउने ।
ग) सदस्यता वितरण पार्टीको विधान अनुसार गरियोस् । नियमवालीमा गरिएको व्यवस्था खारेज गरियोस् ।
घ) एक निर्वाचन क्षेत्र भएका जिल्लामा पनि महाधिवेशन प्रतिनिधिबाट नै सभापति चयन गरिने व्यवस्था गरियोस् ।
लगायतका विषयहरू पार्टीको नीति, विधान र परम्पराविपरीत केन्द्रीय समितिलेको बहुमतद्वारा उल्टाइएको छ । केन्द्रीय समितिको बहुमतले उल्टाएका महासमितिको निर्णयहरू अक्षरस पार्टीको १४औं महाधिवेशनमा प्रस्तावका रूपमा अगाडि बढाउने छौँ ।

२) नेपाली काँग्रेसको विधान २०१७ र संसोधित विधान २०७५ ले निर्देशित गरे अनुसार पार्टी पद्धति अनुसार पार्टी सभापति एवम् केन्द्रीय समिति अगाडि बढ्न नसकेको । पार्टीको विधान अनुसार छ महिनाभित्र गठन हुनुपर्ने विभागहरू गठन गर्न वर्तमान केन्द्रीयसमिति एवम् नेतृत्व पूर्ण रूपमा असफल रह्यो।

वर्तमान केन्द्रीय समिति लगायत सम्पूर्ण समितिहरूले आफ्नो कार्यकालको अवधि पूरा गरिसकेको अवस्थामा र पार्टीको १४ औं महाधिवेशन पनि घोषणा भैसकेको परिस्थितिमा पार्टीका विभिन्न विभागहरू अवैधानिक एवम् स्वेच्छाचारी ढंगले विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद छ।

लामो समय उक्त विभागहरूमा कसैलाई पनि जिम्मेवारी नदिई स्वच्छाचारी तवरले संचालन गरी महाधिवेशनको पूर्वसन्ध्यामा गठन भएका विभागहरूलाई अमान्य ठहर गर्दछ ।

३) कार्यविधि अनुसार समायोजन सम्पन्न भएका डढेलधुरा, सिन्धुपाल्चोक, सोलुखुम्बु लगायतका जिल्लाहरूमा विभिन्न बहानामा रोकिएको क्रियाशील सदस्यता फारम तत्तकाल उपलब्ध गराउन माग गर्दछौं साथै तेह्रौं महाधिवेशनमा सम्पूर्ण विधि प्रक्रिया पूरा गरी केन्द्रमा बुझाइएका साथीहरूको क्रियाशील सदस्यता तत्काल जिल्लामा पठाउन माग गर्दछौँ । पार्टीको क्रियाशील सदस्यता विधान बमोजिम सधैंका लागि खुल्ला हुने भएको हुँदा जिल्ला तहबाट नै फारम वितरण गर्ने व्यवस्थाको सुनिस्चितता गर्न आग्रह गर्दछौं ।

पार्टीको समायोजन कार्यविधि, निर्देशिका विपरित पार्टी समायोजनमा केन्द्रीय निर्वाचन समितिले विभिन्न जिल्लामा खेलेको भूमिका नेता प्रभावित देखिएकाले केन्द्रीय निर्वाचन समितिको विश्वसनियताप्रति हाम्रो ध्यान आकर्षित भएको छ। यस प्रकारका क्रियाकलापहरू रोकी निष्पक्षता र तटष्थता कायम गर्न आग्रह गर्दछौं ।

४) पार्टीका उम्मेदवारहरूको विरुद्ध उम्मेदवारी दिने, प्रस्तावक र समर्थक बस्ने, अन्य उम्मेदवारलाई सघाउनेहरू विधान अनुसार नै स्वत पार्टीबाट बर्खास्त हुने प्रस्ट व्यवस्था छ । विधान अनुसार तत्काल कारवाही गरिनुपर्नेलाई नगरि अधिवेशनको कार्यतालिका प्रकाशित भइसकेपछि प्रतिशोधको आधारमा कारबाही गरिएको छ । यस प्रकारका गतिविधि रोकिनु आवश्यक छ ।

५) नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनबाट आर्थिक पारदर्शिता, स्पष्ट राजनैतिक दृष्टिकोण, स्थानीय तहसम्मका मतदाताहरूले प्रत्यक्ष अनुभुति गर्ने गरी भावी रणनीतिक योजनासहित नीति तथा नेतृत्व स्थापित गर्ने अभियानको घोषणा गर्दछौँ । नेपाली काँग्रेस पार्टीले अंगिकार गरेको लोकतान्त्रिक समाजवादको सामाजिक परिभाषा, व्याख्या, योजना, निति तथा कार्यक्रम निर्माणमा नेपाली काँग्रेस पाटीको आन्तरिक बैचारिक बहस र सम्वादलाई तिव्रता दिने छौँ । जिल्ला र स्थानीय तहमा क्रियाशिल पार्टी पङ्तीहरूमा निरन्तर सैद्धान्तिक, वैचारिक, नवीन ढंगको संगठन निर्माणका लागि अर्थपूर्ण सम्वादलाई तिव्रताका साथ अगाडि बढाउने प्रण गर्दछौँ ।

६)पार्टीभित्र नेतृत्वमा पुग्नको लागि पैसा-पाखुराको प्रभावबाट हैन निष्ठा, त्याग र क्षमताको आधारमा प्रतिनिधित्व हुने प्रणाली सुनिश्चितताका लागि सबै साथीहरूलाई आग्रह गर्दछौँ ।

७) पार्टी एकीकरण वा प्रवेश गर्ने समूह वा व्यक्तिको हकमा पार्टीको बिधान अनुसार पार्टीको तल्लो तहबाटै क्रियाशील सदस्यता दिने व्यवस्था सुनिस्चित गरियोस् ।

८) नेपाली काँग्रेसका सभापति र केन्द्रीय समितिमा रहने नेताहरुको सम्झौतावादी नीतिका कारण लोकतान्त्रिक पद्धति कमजोर र निष्कृय प्रायः हुँदै गएको छ । पहिले देश, अनि जनता, जनता पछि पार्टी र पार्टीपछि आफू हुनुपर्ने तर आफू र आफ्ना भन्ने नीति केन्द्रीय समितिमा हावी भएका कारणले गर्दा देशको लोकतान्त्रिक पद्धति र पार्टी प्रति आम मानिस र सक्रिय साथीहरूमा वितृष्णा आएको छ । देश र जनतालाई केन्द्रमा राखेर लोकतान्त्रिक पद्धतिलाई सुदृढ गर्दै नेपाली काँग्रेसलाई जिम्मेवार बनाउने निति लिनका लागि आग्रह गर्दछौं ।

९) भ्रष्टाचार, अनियमितता, कुशासनमा चुर्लुम्म डुबेको नेकपाको सरकार, कोरोना नियन्त्रण र व्यवस्थापनमा पूर्ण रूपमा असक्षम र असफल रहेको छ। आफ्नो असफलता ढाक्न स्वतन्त्र मिडियाको मुख थुन्ने, फर्जि मिडिया चलाउने, धम्क्याउने, भ्रम सिर्जना गर्ने कार्य गरिरहेको छ । यस्तो कार्यको घोर भर्त्सना गर्दछौं । सरकारका अर्कमण्यताविरुद्ध संघर्षमा उत्रिनै पर्ने अत्यावश्यक भएकाले त्यस प्रकारको निर्णय र निर्देशनका लागि नेतृत्व समक्ष आग्रह गर्दछौं ।

जय नेपाल
मिति २०७७/०४/२९गते

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।