राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यता परित्याग गरेको औपचारिक घोषणा गरेका छन्। उनले केन्द्रीय महामन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पेश गरेका हुन्।
२०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा हुमागाईँ काभ्रे क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले १० हजार ५७३ मत प्राप्त गरेका थिए। सो निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार गोकुलप्रसाद बाँस्कोटा विजयी भएका थिए।
उम्मेदवार छनोटमा 'चरम चलखेल'को आरोप
राजीनामासँगै सार्वजनिक गरेको वक्तव्यमा हुमागाईँले पार्टीभित्र उम्मेदवार चयन प्रक्रिया विधान, मापदण्ड र आन्तरिक लोकतन्त्र विपरीत सञ्चालन गरिएको आरोप लगाएका छन्।
उनका अनुसार लामो समयदेखि पार्टीमा सक्रिय र समर्पित कार्यकर्तालाई प्राथमिकता नदिई अन्य दलबाट हालै प्रवेश गरेका व्यक्तिहरूलाई उम्मेदवार बनाइएको छ। उनले उम्मेदवार छनोटमा आर्थिक प्रभाव र व्यक्तिगत नजिकताका आधारमा निर्णय भएको दाबी गरेका छन्।
हुमागाईँले पार्टीले प्रारम्भिक चरणमा दक्ष र योग्य व्यक्तिलाई उम्मेदवार बनाउने प्रतिबद्धता जनाएको भए पनि व्यवहारमा सीमित नेतृत्व समूहसँग निकट रहेका व्यक्तिहरूलाई प्राथमिकता दिइएको आरोप लगाएका छन्।
केन्द्रीय संरचना र आर्थिक व्यवस्थापनमा प्रश्न
उनले केन्द्रीय समिति विस्तार प्रक्रिया पारदर्शी नभएको र संरचनागत निर्णयहरू सीमित व्यक्तिमा केन्द्रित हुँदै गएको उल्लेख गरेका छन्।
सदस्यता शुल्क तथा प्रत्यक्ष र समानुपातिक उम्मेदवारबाट संकलित आवेदन शुल्कको विवरण सार्वजनिक नगरेको भन्दै उनले आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न उठाएका छन्। प्रदेश तथा स्थानीय तहमा बाँडफाँड हुने भनिएको रकमसमेत स्पष्ट नभएको उनको भनाइ छ।
आन्तरिक लोकतन्त्र र नेतृत्वमाथि असन्तोष
हुमागाईँले पार्टी विधानअनुसार तोकिएको समयसीमाभित्र केन्द्रीय महाधिवेशन सम्पन्न नगरेको, प्रदेश तहबाट उठाइएका असन्तुष्टि र गुनासाहरूको सम्बोधन नभएको आरोप लगाएका छन्।
उनले नेतृत्वसँग सम्बन्धित केही सार्वजनिक विवाद र न्यायिक प्रक्रियामा रहेका विषयहरूले संगठनको नैतिक विश्वसनीयतामा असर पारेको पनि उल्लेख गरेका छन्। यस्ता विषयमा स्पष्ट धारणा र जवाफदेहिताको अभाव रहेको उनको टिप्पणी छ।
पछिल्लो समय उम्मेदवार छनोट प्रक्रिया र आर्थिक पारदर्शितासम्बन्धी प्रश्न उठाउँदै पार्टी परित्याग गर्ने नेताहरूको संख्या बढ्दो देखिएको छ। हुमागाईँको राजीनामा आउनुअघि मात्रै मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा र नेतृ खेम कुमारी (उर्मिला) भुर्तेलले पनि पार्टी परित्याग गरेका थिए।
पुराना तथा संगठन निर्माणमा भूमिका खेलेका नेताहरूले धमाधम पार्टी छाड्न थालेपछि रास्वपाभित्रको आन्तरिक कलह सतहमा आएको विश्लेषण हुन थालेको छ। उम्मेदवार छनोट प्रक्रिया, आर्थिक पारदर्शिता र नेतृत्वशैलीप्रति असन्तुष्टि जनाउँदै विभिन्न तहका नेताहरूले सार्वजनिक रूपमै प्रश्न उठाउँदै आएका छन्।
हुमागाईँले आफ्नो निर्णय व्यक्तिगत आवेग वा क्षणिक असन्तोषका कारण नभई संरचनागत विकृतिप्रति गम्भीर असहमतिको परिणाम भएको स्पष्ट पारेका छन्। उनले आगामी दिनमा लोकतन्त्र, सुशासन र जनहितका पक्षमा सक्रिय रहने बताएका छन्।
न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुक र एक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

शेयर गर्नुहोस्