राजनीति

संविधानसभा निर्वाचन - काभ्रेमा मुख्य तीन पार्टीकै चर्चा

अघिल्लो संविधानसभा निर्वाचनमा जिल्ल्ााका चार क्षेत्रमा १४ राजनीतिक दलले चुनावी प्रतिस्पर्धा गरेका थिए । यसपटक २८ दलका उम्मेदवार चुनावी दौडमा छन् जसअनुसार ७२ दलगत र ५ जना स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा छन् ।

०६४ को संविधानसभा निर्वाचनमा ३ लाख २१ हजार ७ सय ५ मतदाता रहेकामा २ लाख १० हजार ४ सय १० मत खसेको थियो । यसपटक पहिलेको तुलनामा मतदाता घटेका छन् । यसपटक २ लाख ८ हजार ६ सय १७ रहेको छ । कांग्रेस, एमालेसहित अन्य साना दलले अघिल्लो निर्वाचनमा क्षेत्रका सबै ठाउँ पुगेर चुनाव प्रचारप्रसार गर्न सकेका थिएन । त्यसबेला एमाओवादी कार्यकर्ताले अरू उम्मेदवारलाई केही ठाउँमा प्रचारप्रसारमै रोक लगाएका थिए । जिल्लाका सबै निर्वाचन क्षेत्रमा तीन दलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

अघिल्लो निर्वाचनमा काभ्रेको ३ क्षेत्रमा विजय हासिल गरेको एमाओवादीलाई पुरानो साख जोगाउने चुनौती नै देखिन्छ । ग्रामीण क्षेत्रमा कांग्रेस, एमालेले समेत आफ्ना संगठन विस्तार गरी मजबुद बनाएका छन् । अहिले उम्मेदवारहरूलाई चुनाव जिल्ने आधार दाबी गर्दै घरदैलो गर्न भ्याइनभ्याई छ । स्थानीय स्तरका जनतामा समेत चुनावी रौनकले पूरै छोएको छ । अघिको निर्वाचनमा खुलेर भोट माग्न नसकेका स्थानीय नेता अहिले खुलेरै लागेका छन् ।

क्षेत्र नं. १
kavre-1-candidates२८ गाविससहित ४५ हजार ९ सय ६० मतदाता रहेको क्षेत्र नं १ मा एमाओवादी केन्द्रीय सदस्य सूर्यमान दोङ, कांग्रेसका तीर्थ लामा र एमालेका संग्रामजित लामा चुनावी मैदानमा छन् । निर्वाचन क्षेत्रको गाविस अधिकांश दुर्गम गाउँ पर्छन् । तामाङ बाहुल्य रहेकाले तीनै पार्टीले उम्मेदवार पनि यही समुदायको दिएका छन् । सूर्यमान र संग्रामजित दुवै अघिल्लो संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका थिए । तीर्थ भने पहिलोपटक चुनावी मैदानमा उत्रेका हुन् । अघिल्लो निर्वाचनमा ५१ हजार ८ सय मत खसेकामा दोङले २७ हजार ४ सय ७१ मत प्राप्त गरी विजयी बनेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी भने एमालेका लामाले ८ हजार ४ सय ७ मत प्राप्त गरे । कांग्रेस उम्मेदवार मधुप्रसाद आचार्यले ७ हजार २ सय १२ मत पाएको थियो ।

एमाओवादीले कोसीपारि क्षेत्रलाई उपेक्षा गरेको भन्दै वाईसीएल जिल्ला सदस्य तेजप्रसाद गौतमले दोङविरुद्ध बागी उम्मेदवारी दिएका छन् । पछिल्लो समय एमाओवादीका प्रभावशाली केही नेता कांग्रेसमा प्रवेश गरिसकेका छन् । त्यो क्षेत्रको १० गाविसमा नेकपा-माओवादीको संगठन पनि बलियो छ ।
पार्टी एजेन्डा त्यसलाई कार्यान्वय गर्ने नेतृत्व र त्यो नेतृत्वमा रहेको पार्टीको संगठन आफ्नो जित्ने आधार रहेको दोङ बताउँछन् । 'जनताको व्यापक समर्थनसाथ सहयोग हाम्रो पार्टीलाई छ । त्यसैले विजय सुनिश्चित छ,' उनले भने । त्यस क्षेत्रबाट १९ जना उमेदवार चुनावी मैदानमा छन् ।

पनौती नगरपालिकासहित १९ गाविस रहेको क्षेत्र २ मा ५१ हजार ३ सय ५५ मतदाता छन् । यस क्षेत्रमा एमाओवादीका अक्कलबहादुर थिङ, कांग्रेसका जिल्ला सभापति शिवप्रसाद हुमागाईं र एमाले जिल्ला उपाध्यक्ष रामहरि सुवेदी चुनावी मैदानमा मुख्य प्रस्पर्धीका रूपमा देखिन्छन् । थिङ र हुमागाईं त्यस क्षेत्रबाट सभासद भइसकेका व्यक्ति हुन् । ०५४ को स्थानीय निकाय चुनावमा सुवेदी जिविसको इलाका सदस्य थिए ।

क्षेत्र नं. २
kavre-2-candidatesअघिल्लो संविधानसभा निर्वाचनमा ५० हजार १ सय ६४ मत खसेकामा एमाओवादीका थिङले १८ हजार २ सय ७ मत ल्याएर विजयी बनेका थिए । एमालेका केशवप्रसाद बडालले ११ हजार ८ सय १४ र कांग्रेसका तीर्थबहादुर पसखलले १० हजार ७ सय ८८ मत पाई क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए । तर ०५६ को संसदीय निर्वाचनमा कांग्रेसका हुमागाईंले जितेका थिए । पनौती नगरपालिकाका हुमागाईं र सुवेदी बासिन्दा हुन् ।

स्थानीय बासिन्दा माझ बसेर सधैं उनीहरूका विकास निर्माणमा सहयोगी बनेकाले आफ्नो जित सुनिश्चित रहेको हुमागाईंले दाबी गरे । 'पार्टीको चुनावी एजेन्डा र सधैँ जनतामाझ बसेर विगतमा बोलेका विकास निर्माणका काम पूरा गरेँ,' उनले भने, 'यो नै मेरो चुनाव जित्ने आधार हो ।' गत संविधानसभाको निर्वाचनमा क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका उनी एमालेका कृष्णप्रसाद सापकोटासँग २ हजार १५ मत अन्तरले पराजित भएका थिए । यस क्षेत्रमा १७ उम्मेदवार चुनावी मैदानमा छन् ।

क्षेत्र नं. ३
kavre-3-candidatesबनेपा नगरपालिकासहित १६ गाविस रहेको क्षेत्र नं. ३ मा ५७ हजार २ सय ४६ मतदाता छन् । चुनावी दौडमा एमाओवादीका मीना तामाङ, कांग्रेसका कञ्चनचन्द्र बादे र एमाले जिल्ला अध्यक्ष गोकुल बाँस्कोटा प्रतिस्पर्धी बनेका छन् ।
अघिल्लो निर्वाचनमा ५२ हजार ९ सय ४५ मत खसेकामा तामाङले १३ हजार ५ सय ५१ मत पाएकी थिइन् । कांग्रेस उमेदवार हुमागाईंले १४ हजार ५ सय ७९ पाएका थिए भने एमालेका सापकोटाले १६ हजार ५ सय ९४ मत ल्याई विजय प्राप्त गरेका थिए । उनी एमालेबाट बाग्मती अञ्चलमै निर्वाचित हुने एक मात्रै सदस्य थिए । कांग्रेस दोस्रो र एमाओवादी तेस्रो भएको थियो । यसपटक कांग्रेसले बादे र एमालेले बाँस्कोटालाई चुनावी मैदानमा उतारेको छ । बादे कांग्रेसबाट बनेपा नगरपालिकाको उपमेयर भइसकेका छन् । बाँस्कोटा एमालेको दुईपटक जिल्ला अध्यक्ष भइसके ।

एमालेले अहिलेसम्म जनताका पक्षमा गरेका काम र पार्टीको सुदृढ संगठनात्मक संरचना चुनाव जित्ने आधार रहेको बाँस्कोटा बताउँछन् । 'पार्टीले जनताका पक्षमा गरेको कामसहित संगठनात्मक संरचना नै विजयको आधार हो,' उनले भने, 'यो क्षेत्रमा पार्टी फुटेको बेलामा बाहेक अरू समय एमाले उम्मेदवारले जितेका छन् ।' त्यस क्षेत्रमा २२ उमेदवार चुनावी दौडमा छन् ।

क्षेत्र नं. ४
kavre-4-candidatesधुलिखेल नगरपालिकासहित २२ गाविस रहेको क्षेत्र नं. ४ मा ५४ हजार ५६ मतदाता छन् । एमाओवादीका नारायण बानियाँ, कांग्रेसका कुमारप्रसाद लामिछाने र एमालेका विदुर सापकोटा चुनावी लडाइँमा उत्रिएका छन् । अघिल्लो निर्वाचनमा ५५ हजार ५ सय १ मत खसेकोमा एमाओवादीका तेजप्रसाद मिजारले २२ हजार ७३ मत प्राप्त गरेका थिए । एमाले र कांग्रेस क्रमशः दोस्रो र तेस्रो बने । मिजार अहिले नेकपा-माओवादीमा छन् । एमाओवादी र कांग्रेसले खडा गरेका बानियाँ र लामिछाने नयाँ अनुहार हुन् । एमालेका सापकोटा यसअघि दुईपटक संसद् उठिसके । अघिल्लो निर्वाचनमा उनले १६५४९ मत पाएका थिए । कांग्रेसका राजेन्द्र खरेलले ८ हजार ४ सय १८ ल्याएका थिए । यस क्षेत्रका केही गाविसमा नेकपा-माओवादीको बढी प्रभाव छ । यहाँ १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

ठूला दलमात्रै होइन । चुनाव जित्ने दाउमा साना दलका नेतासमेत दौडमा खरो उत्रिएका छन् । राप्रपा नेपालबाट क्षेत्र नं. ३ का उम्मेदवार चन्द्रबहादुर खड्काले आफ्नो पार्टीको एजेन्डा चुनाव जित्ने आधार भएको दाबी गरे । उनी शिक्षा मन्त्रालयका पूर्वसहसचिवसमेत हुन् ।

मतदाताको तथ्यांक झलक

क्षेत्र नं.२०६४ को मतदाता२०६४ मा खसेको२०७० को मतदाता
८२,३९०५१,८००४५,९६०
७६,८८४५०,१६४५१,३५५
७५,९२९५२,९४५५७,२४६
८६,५०२५५,५०१५४,०५६

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।