समाज

बनेपामा फुटपाथ बन्यो 'बाइक ट्र्याक'

बनेपा, साउन २४

पैदलका लागि बनेपा नगरपालिकाले तीन वर्षअघि बनाएको फुटपाथ अहिले मोटरसाइकललाई वैकल्पिक बाटो बनाइदिएझैं हुन थालेको छ। जसले गर्दा पैदलयात्रु मर्कामा परेका छन् भने नगरपालिका र ट्राफिक प्रहरीलाई टाउको दुखाइको विषय बनेको छ।

'आँखैअगाडि फुटपाथमा मोटरसाइकल हाँक्छन्। जति सम्झाए पनि मान्दैनन्,' नगरप्रमुख सुरथ पोखरेलले भने, 'फुटपाथको महत्व नबुझ्ने नगरवासीको अगाडि हाम्रो केही लागेन।' बनेपा नगर प्रवेशस्थल पुलबजारदेखि बुडोलसम्म ३.६ किलोमिटर लामो फुटपाथ छ। अरनिको राजमार्गको दायाँ-बायाँ साढे तीन मिटर चौडाइको फुटपाथमा सिमेन्टको ब्लक प्रयोग गरिएको छ।

ट्राफिक प्रहरीले फुटपाथ प्रयोगमा व्यापकता ल्याउन नगरपालिकासँग मिलेर पैदल यात्रुका लागि केही समय अभियान चलाएको थियो। अभियानको प्रभाव केही दिन राम्रै देखिए पनि फेरि उस्तै अवस्था छ। सामुदायिक प्रहरी लगाएर फुटपाथको सही उपयोग गराउने बनेपा प्रहरीको प्रयाससमेत निरर्थक बनेको छ।

'फुटपाथमा ट्राफिक देखुञ्जेल मोटरसाइकल चालक बाटोबाटै गुडाउँछन्। नदेखिनेबित्तिकै फुटपाथमा उकालिहाल्छन्,' जिल्ला ट्राफिक प्रहरी प्रमुख धनबहादुर श्रेष्ठले भने, 'सामुन्ने फुटपाथबाट सवारी साधन गुड्दा घरधनीहरू मौन बस्नाले समेत सवारी चलाउनेको मनोबल बढेको हुनसक्छ।'

फुटपाथ बनाउँदा एसियाली विकास बैंकको ऋणमा सञ्चालित सहरी वातावरण सुधार परियोजनामार्फत दुई करोड १८ लाख ५७ हजार रुपैयाँ खर्च भएको थियो। 'फुटपाथ बने पनि पैदलयात्रुले खेप्नु परेको सास्ती जस्ताको तस्तै छ। यसबाट मर्निङवाकमा निस्कने र स्कुल जाने विद्यार्थी धेरै मर्कामा परेका छन्', बनेपा नगर विकास समितिका पूर्व अध्यक्ष रवीन शाक्य भन्छन्।

पैदल यात्रुको भार मात्र थेग्ने गरी बनाइएको फुटपाथमा मोटरसाइकल र साना गाडीसमेत चलाउँदा अधिकांश ब्लक फुट्न थालेको छ। ब्लक फुट्न थालेपछि फुटपाथै कुरूप देखिएको छ।

नगरपालिकाले फुटपाथको प्रयोगमा उत्प्रेरणा जगाउन बनेपा बजार क्षेत्रका युवालाई फुटपाथसँगै विरुवा रोप्ने अभियानका लागि वर्षेनी आर्थिक सहयोग समेत गर्दै आएको छ। 'वातावरण संरक्षणका लागि भनेर वर्षको एक लाख रुपैयाँ दिँदै आएका छौं,' नगरप्रमुख पोखरेलले भने, 'युवाहरूको सवि्र्कयतामा केही हदसम्म काम भइरहेको छ।'

-
मधुसुधन गुरागाईं

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।