समाज

बागमती नदीका ६ स्थानमा ६५ लाख खर्चेर 'ट्रास बेरियर' जडान, तैरिने फोहोर संकलनका लागि नयाँ प्रविधि

काठमाडौं उपत्यकाका नदीहरूमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीबीच बागमती क्षेत्रमा तैरिने फोहोर संकलन गर्न 'ट्रास बेरियर' प्रविधि जडान गरिएको छ। सहरी विकास मन्त्रालयअन्तर्गतको बागमती सभ्यता एकीकृत विकास समितिले ६५ लाख रुपैयाँ लागतमा ६ स्थानमा यस्तो संरचना स्थापना गरेको हो।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

समितिका अनुसार गत साउन २ गते ठेक्का सम्झौता सम्पन्न भएपछि बागमती र यसका सहायक नदीका विभिन्न विन्दुमा बेरियर जडान गरिएको छ।

कहाँ–कहाँ जडान गरियो?

ट्रास बेरियर बागमती नदीको गोकर्ण ब्यारेजभन्दा माथिल्लो भाग, गुहेश्वरी क्षेत्र, पशुपति क्षेत्रभन्दा तल तीलगंगामा, मनोहरा–बागमती दोभान, यूएन पार्क तथा मनोहरा नदीको कर्मनाशा दोभान (बालकुमारी) क्षेत्रमा स्थापना गरिएको छ।

यी स्थानहरू उपत्यकाभित्र तैरिने फोहोर बढी संकलित हुने संवेदनशील विन्दुका रूपमा चिनिन्छन्।

कसरी काम गर्छ ट्रास बेरियर?

समितिका आयोजना उपनिर्देशक उद्धव नेपालका अनुसार ट्रास बेरियरले नदीको सतहमा बग्दै आउने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा, फोम लगायतका हलुका फोहोरलाई रोक्छ।

यस प्रविधिले नदीको प्राकृतिक बहाव अवरुद्ध नगरी सतहमा तैरिने वस्तुहरूलाई एक निश्चित स्थानमा जम्मा गर्छ। त्यसपछि ती फोहोर नियमित रूपमा निकालेर वर्गीकरण, पुनःप्रयोग वा सुरक्षित व्यवस्थापन गर्न सकिन्छ।

संरचनामा फ्लोटिङ प्रणाली र रबर कन्वेयर बेल्ट जडान गरिएको छ, जसका कारण पानीको सतह घटबढ हुँदा बेरियर आफैं माथि–तल सर्छ। यसले बाढीको समयमा पनि नदीको प्रवाहमा अवरोध नपुर्‍याउने विश्वास गरिएको छ।

किन आवश्यक?

उपत्यकामा तीव्र शहरीकरण र अव्यवस्थित फोहोर व्यवस्थापनका कारण बागमती, विष्णुमती, मनोहरा र धोबी खोला लगायतका नदीमा ठूलो मात्रामा तैरिने फोहोर बग्ने गरेको छ।

समितिका अधिकारीहरूका अनुसार ट्रास बेरियरले यस्तो फोहोर नदीको तलतिर बगेर जाने क्रम रोक्दै प्रदूषण न्यूनीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। यसले नदीको सौन्दर्य संरक्षण, जलीय जीवजन्तुको सुरक्षा र जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

परीक्षण चरणमा, विस्तारको तयारी

हाल यो प्रणाली परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको हो। प्रारम्भिक अवलोकनमा यसको प्रभावकारिता सकारात्मक देखिएको समितिले जनाएको छ।

आगामी बर्खा याममा ठूलो पानीका बेला यसको कार्यक्षमता मूल्यांकन गरिनेछ। यदि प्रभावकारी देखिएमा उपत्यकाका अन्य नदी र थप स्थानमा पनि ट्रास बेरियर विस्तार गर्ने योजना रहेको समितिले जनाएको छ।

बागमती क्षेत्रको दीर्घकालीन सफाइ र संरक्षणका लागि प्रविधिमूलक हस्तक्षेपका रूपमा यो प्रयासलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकएक्स् मा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।