समाचार

प्रदेश ३ को स्थायी राजधानी हेटौँडा, नाम बागमती सर्वसम्मत पारित

झन्डै दुई वर्षदेखि अन्योल रहेको प्रदेश ३ को नाम र राजधानी आइतबार टुंगिएको छ । प्रदेश तीनको प्रदेशसभाको आइतबार बसेको बैठकले दुईतिहाइभन्दा बढी मतले नाम बागमती र राजधानी मकवानपुरको हेटौँडा पारित गरेको छ ।

प्रदेशको नाम बागमती राख्ने प्रस्ताव सर्वसम्मतिले पारित भयो । प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सभामा प्रदेश ३ को नाम बागमती राख्न निर्णयार्थ पेस गरेको प्रस्तावमाथि भएको मतदानमा पक्षमा एक सय आठ मत परे । सो प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाल, विवकेशील साझाका रमेश पौड्याल र शोभा शाक्य, राप्रपाकी रिना माझी र राप्रपा संयुक्तकी रिना गुरुङ समर्थक थिए । मतदानमा सहभागी सबै सांसदले पक्षमा मत दिएको सभामुख श्रेष्ठले प्रदेश सभामा जानकारी दिए । उनले अब प्रदेशको नाम बागमती रहने घोषणा गरे । प्रदेशको नामको प्रस्तावमा भएको मतदानमा स्वतन्त्र सांसद प्रेम तामाङ सहभागी भएनन् । पहिचानको मुद्दालाई बेवास्ता गरेर नाम बागमती राख्न खोजिएको र हेटौँडा राजधानी अपायक भएको भन्दै उनले विरोध जनाए ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानीमा हेटौंडा कायम गर्ने प्रस्ताव दर्ता गरेका थिए । कांग्रेस सुंदीय दलका नेता बाँनियासँगै राप्रपाकी माझी र राप्रपा संयुक्तकी गुरुङ समर्थक थिए । सो प्रस्ताव पनि दुईतिहाइभन्दा बढी मतले पास भयो । प्रदेशको राजधानीबारे भएको मतदानमा हेटौँडाका पक्षमा एक सय पाँच सांसदले मत दिए । तीन सांसदले भने हेटौँडाको विपक्षमा मतदान गरे । नेकपा, कांग्रेस र राप्रपाका सांसदले हेटौँडाको पक्षमा मतदान गरे भने विवेकशील नेपाली र साझा पार्टीका सांसदले विपक्षमा मतदान गरेका थिए ।

त्यस्तै, काभ्रेको धुलिखेल राजधानी बनाउनुपर्ने प्रस्ताव भने बहुमतले अस्वीकृत गरेको छ । विवेकशील नेपाली पार्टीका प्रस्तावक रमेश पौड्यालले सभामा निर्णयार्थ पेस गरेपछि भएको मतदानमा एक सय एक सांसदले विपक्षमा मत दिएका हुन् । धुलिखेलको पक्षमा प्रस्तावक पौड्याल, विवेकशीलका अर्का सांसद विराजभक्त श्रेष्ठ र साझा पार्टीका सांसद शोभा शाक्यले पक्षमा मत दिएका थिए ।

प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम बागमती घोषणा गरेलगत्तै प्रदेश प्रमुख विष्णु प्रसाईंले प्रमाणीकरण गरेका छन् । आइतबार नै प्रदेश सभा सचिवालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ । आइतबारदेखि नै कार्यान्वयन हुने गरी राजपत्रमा सूचना प्रकाशित गरिएको हो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।