समाज

खुल्यो च्याम्राङवेशी-मिल्चे सडक

काभ्रेको बेथानचोक गाउँपालिकाको च्याम्राङवेशी हुँदै मिल्चेसम्म सिधा यातायात सञ्चालन सुरु भएको छ । च्याम्राङवेही–कलाङसिंह–झिंगे–मिल्चे मोटरबाटो निर्माण सम्पन्न भएसँगै मंगलबारदेखि सिधा यातायात सञ्चालनमा आएको हो । उक्त यातायात सेवाको मंगलबार प्रदेश नंवर ३ को प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र वानियाले उद्घाटन गरेका छन् ।

यससँगै च्याम्राङवेशीबाट मिल्चेको झिंगेसम्म बस पुगेको छ । च्याम्राङवेशीदेखि मिल्चेसम्म २० बर्षदेखि सडक निर्माण भइरहेको थियो । तर, बीचको १२ सय मिटर खण्डमा ठूला चट्टान भएका कारण सडक निर्माणले पुर्णता पाउन सकेको थिएन । नेपाली सेनाको विष्णुदल गण धुलिखेल र काठमाडौंको कालीप्रसाद गणको प्राविधिक सहयोगमा चट्टानमा विष्फोट गराएर सडकखण्ड खुलाइएको हो । यसका लागि सेनाको टोली ४० दिनसम्म खटिएको थियो । ती चट्टान फुटाउनमात्रै ५० लाख रुपैयाँ खर्च भएको छ । जसमध्ये ४२ लाख रुपैयाँ बेथानचोक गाउँपालिकाले ब्यहोरेको छ । सेनाको टोलीले पहिलोपटक उपभोक्ता समितिसँग मिलेर निःशुल्क काम गरेको थियो । अब यो सडक निर्माण पुरा भएसँगै ढुंखर्कबाट च्याम्राङवेशी मिल्चे हुँदै सिधै मकवानपुरको फापरबारीबाट धरान चतरा सडक पुग्न सकिनेछ । सडक निर्माण पुरा नहुँदा च्याम्राङवेशी हुँदै मिल्चे पुग्न ललितपुर हुँदै २२ किलोटिर अतिरिक्त यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो ।

यो सडकखण्डको कुल लम्बाई ६ किलोटिर रहेको छ । सडक निर्माण भएसँगै अब मिल्चे, च्याम्राङवेशी लगायतका साविकका गाविसमा उत्पादित कफी, अमृसो लगायतका उत्पादन सहज रुपमा बजारमा ल्याउन सकिने सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रुपेश पाख्रिनले बताए । सडक निर्माणका लागि कुल ६ करोड रुपैयाँ खर्च भएको छ । सडक उद्घाटन कार्यक्रममा पुर्व राज्यमन्त्रीहरु उदयसम्शेर राणा, कन्चनचन्द्र वादे, काभ्रेका प्रमुख जिल्ला अधिकारी शिव सिम्खडा, बेथानथोक गाउँपालिका अध्यक्ष प्रेमवहादुर तिमल्सिना, वडा अध्यक्ष सोमनाथ घिमिरे, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, विष्णुदल गण धुलिखेलका गणपति रामहरि केसी, कांग्रेसका महासमिति सदस्य ऋषिराम घिमिरेले सडक निर्माणपछि हुने फाइदाका विषयमा मन्तव्य राखेका थिए ।

कार्यक्रममा सडक निर्माणमा सहयोग गर्ने डोजरका चालक, सहचालक र सहयोगीलाई नगदसहित सम्मान गरिएको थियो । सडक निर्माण सम्पन्न भएसँगै कार्यक्रममा स्थानीयबासीले बाजागाजासहित खुशीयाली मनाएका थिए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।