समाज

काभ्रेमा थपियो अर्को राजमार्ग

अरनिको र विपी राजमार्ग पछि काभ्रेमा नमोबुद्ध–पनौती–कुशादेवी–रयाले–लामाटार–लुभु–ग्वार्काेसम्मको क्षेत्रीय सडकलाई तेश्रो राजमार्ग बनाउने निर्णय कार्यान्वयन हुने भएको छ ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा सहकारी मन्त्रालय अन्र्तगत नेपाल सरकारले भारतको एक्जिम बैक अफ इण्डियाको सहयोगमा उक्त सडकलाई राजमार्गका रुपमा निर्माण गर्न लागेको हो । गत जेठ महिनामै निर्णय भएको उक्त सडकको डिटेल सर्वेक्षण शुरु भैसकेको छ । नेकपा एमालेका तर्फवाट निर्वाचित पूर्व सभासद कृष्णप्रसाद सापकोटाको विशेष पहलमा उक्त सडकले राष्ट्रिय सडकको मान्यता प्राप्त गरी राजमार्गका रुपमा निर्माण हुन लागेको हो । क्षेत्रीय सडक हुँदै राष्ट्रिय राजमार्गका रुपमा निर्माणको पहल भए पनि भारतको उक्त कम्पनीले १० वटा सडकलाई मात्रै सहयोग गर्ने बताएपछि स्थगित भएको थियो । यसवर्ष उक्त कम्पनीले निर्माण सहयोग गर्ने १० राष्ट्रिय सडक मध्ये उक्त सडक परेको पूर्व सभासद् सापकोटाले जानकारी दिए ।

नमोबुद्ध–पनौती–कुशादेवी–रयाले–लामाटार–लुभु–ग्वार्काे सडकको चौडाई फराकिलो हुँदै राजमार्गको मापदण्ड कायम हुने भएको छ । सडकको मुख्य केन्द्रबाट दायाँ बायाँ १५-१५ मिटर छाड्ने निर्णय भएको छ । पिच सडक नै ११ मिटर कायम हुने निर्णय गरेको सापकोटाले जानकारी दिए । अहिले भइरहेको सडकको चौडाई १० देखि १६ फिट मात्रै छ । त्यसलाई बढाएर राजमार्ग निर्माण गर्ने योजना सरकारको छ । निर्माण सम्पन्न भैसकेका घरहरुको हकमा भने सरकारले मुआब्जा दिने कि के गर्ने भन्ने निर्णय गरिसकेको छैन । तर कुशादेवी, रयाले, पनौती, शंखु, दाप्चा सम्मको स्थानीयले केहि वर्ष अघि नै उक्त सडक खण्डको दायाँबायाँ पर्ने जग्गाको मुआब्जा नलिने निर्णय सरकारलाई बुझाएपछि मात्रै राजमार्ग बनाउने निर्णय भएको हो । कुशादेवी गाविसका स्थानीय तथा एमाले काभ्रेका प्रचार विभाग प्रमुख किशोर थापाका अनुसार स्थानीयहरुले राजमार्ग निर्माणमा सहयोग पु¥याउनेछन् । जग्गाको मुआब्जा नलिने निर्णय पहिल्यै स्थानीयहरुले गरिसकेको उनले बताए । क्षेत्रिय सडकका रुपमा अगाडी बढाईरहन यो वर्ष उक्त सडकलाई १९ लाख रकम विनियोजन गरिएको छ ।

सडक निर्माण नथाल्दै स्थानीयहरुले मापदण्ड अनुसार घर निर्माण गर्न गाउँ विकास समितिमा निवेदन दिन थालेपछि गाउँ विकास समितिले सडक विभागसँग जानकारी मागेको थियो । विभागले उक्त सडकलाई ११ मिटर कायम भैसकेको र मुख्य भागबाट १५–१५ मिटर छाडेर भौतिक संरचना निर्माण गर्न अनुमति दिन अनुरोध गरेको शहरी डिभिजन कार्यालयका डिभिजन प्रमुख नरेन्द्र कोइरालाले जानकारी दिए । राजमार्ग निर्माण भएपछि नमोबुद्धबाट विपी राजमार्गको कटुञ्जे खण्डमा जोडिने तयारी गरिएको छ । डिटेल सर्भे सकिएपछि विपी राजमार्गको कटुञ्जेबाट नमोबुद्ध हुँदै पनौती कुशादेवी रयाले मानेदोभान र ललितपुरको ग्वार्काेसम्म कति किलोमिटर हुन्छ ? त्यसको लागत कति लाग्छ भन्ने जानकारी आउने कोइरालाले बताए । काभ्रेमा अरनिको, विपी पश्चात उक्त राजमार्ग निर्माण हुँदा स्थानीय उत्पादन र सोहि क्षेत्रमा पर्ने सर्वसाधारणलाई मात्रै नभई एउटा राजमार्ग बन्द हुँदा अर्काे राजमार्ग खुल्ला राखेर पनि नियमित गर्न सकिने छ ।

सरकारले प्राथमिकीकरण गरेको उक्त सडक क्षेत्रमा जनघनत्वका हिसावले पनि महत्वपूर्ण मानिन्छ । नेपाल र चीनको प्रमुख राजमार्ग अरनिको, विपी राजमार्गसम्म पुग्ने विपी राजमार्ग र कटुञ्जे नमोबुद्ध हुँदै रयाले ग्वार्काे सडकले काभ्रे जिल्लालाई विकास निर्माणको तहमा थप राहत मिल्ने निश्चित छ । भक्तपुर–नाला–बनेपा सडक पनि यसै वर्षसम्म पक्की गरिसक्ने तयारीमा छ । यसले पनि काभ्रे सडक सञ्जालमा अग्रपंक्तिमा देखिएको छ । काभ्रेबाटै अर्काे बैकल्पिक राजमार्गका लागि छलफल भएको पूर्व सभासद् सापकोटाले बताए ,। खोपासी–ढुंखर्क–च्याम्व्राङबेशी हुँदै बारा निजगढ निस्कन सकिने सडकको सम्भाव्यता अध्ययन भइरहेको छ । केहि वर्ष भित्रै सरकारले उक्त क्षेत्रलाई पनि प्राथमिकतामा राखेर थप अर्काे राजमार्ग निर्माण गर्ने योजना बनाएको छ ।

-
सरिता सापकोटा
कुशादेवी

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।